प्रस, सप्तरी, १४ भदौ/
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अक्सिजन प्लान्ट स्थापनाको सम्पूर्ण तयारी पूरा भएको छ । जडान हुने प्लान्टबाट दैनिक २८० वटा सिलिन्डर अक्सिजन भर्न सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जीत झाले जानकारी दिए ।
तीन करोड ७३ लाख मूल्य लगानीको सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको हो । प्लान्ट जडानको आवश्यक सामग्री तथा उपकरणहरू अस्पतालमा आइसकेको तर अस्पतालले निर्माण गर्नुपर्ने थोरै काम बाँकी रहेकाले उक्त काम सम्पन्न हुने बित्तिकै प्लान्ट जडान गरिने मेसु डा झाले बताए । प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेड’ तयार भइसकेको र ढलानको काम मात्र बाँकी रहेकाले तीव्रगतिमा काम भइरहेको छ ।
राजविराजमा अक्सिजन प्लान्ट सञ्चालन भएपछि सप्तरीसहित उदयपुर, सिराहा र सुनसरी जिल्लाका अस्पतालहरूमा पनि अक्सिजन आपूर्तिमा सहज हुने चिकित्सकहरूको विश्वास छ ।