प्रस, सेढवा, १३ भदौ/
जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । आइतवार कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद मियाँले जगरनाथपुर गापालाई पूर्ण खोप गापा घोषित गरेका हुन् ।
उनले जन्मेदेखि १५ महीना उमेर समूहका बालबालिकाहरूलाई १२ थरीका विभिन्न रोग प्रतिरोधात्मक खोप दिएर गापाले बालबालिकाहरूको जीवनरक्षा गरेको बताए । उनले प्रतिकूल समयमा पनि बालबालिकाहरूप्रतिको जिम्मेवारी निर्वाह गरेकोमा गापाको प्रशंसा गरे ।
गापा अध्यक्ष जालीम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, पर्सा प्रहरीका प्रवक्ता प्रनाउ ओमप्रकाश खनाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो क्रममा गापालाई पूर्ण खोप गापा घोषणा गर्न जन्मेदेखि १५ महीनाका बालबालिकालाई खोप लगाउने कार्यमा सक्रिय स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरिएको थियो ।