दुबई, १३ भदौ/एएफपी
संयुक्त अरब इमिरेट्सले सोमवारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महीनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।
दुबईले गत वर्ष छ महीने ‘दुबई एक्स्पो २०२०’मार्फत लाखौं आगन्तुकलाई आकर्षित गर्ने र अर्थव्यवस्थालाई सुदृढ पार्ने योजना ल्याएकोमा स्वास्थ्य सङ्कटले एक वर्ष ढिलो गरी अक्टोबरमा यसको आयोजना गर्न लागेको हो ।
गत हप्तान्तमा २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमित दरमा महीनौंपछि एक हजारभन्दा कम सङ्क्रमित भेटिएको र यो नियन्त्रणको दिशातिर गएको भन्दै युएईले व्यापारिक तथा पर्यटकीय गतिविधिमार्फत महामारीका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोभिड–१९ नियन्त्रणका लागि लिइएका प्रतिबन्धात्मक उपायहरूलाई क्रमशः अन्त्य गर्दै जाने निष्कर्षमा पुगेको यहाँको समाचार संस्था वाम (डब्लुएएम)ले अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ।
योग्य व्यक्तिहरूलाई विश्व स्वास्थ्य सङ्गठनद्वारा अनुमोदित अस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन, मोडेर्ना, फाइजर, सिनोफार्म र सिनोभ्याक नामक कोभिड–१९ विरुद्धका खोपहरूमध्ये कुनै एक खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ ।
यो निर्णय पहिले प्रतिबन्धित देशहरूबाट आएकालगायत सबै देशका नागरिकहरूमा लागू हुने वामले जनाएको छ । यद्यपि पर्यटक भिसामा आउने यात्रीहरूले विमानस्थलमा अनिवार्य पिसिआर परीक्षण गर्नुपर्नेछ । कोभिड महामारीको बीचमा देशको जीवन धेरै हदसम्म सामान्य भएपनि यसले मास्क लगाउने र सामाजिक भेलासम्बन्धी कडा नियमहरू लागू गरिरहेको छ ।
युएईमा हालसम्म सात लाख १५ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने दुर्ई हजार ३६ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा जनाइएको छ ।
भारतमा थप ४४ हजार ६५८ व्यक्ति कोभिड–१९ सङ्क्रमित
नयाँ दिल्ली/पिटिआई
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १.०३ प्रतिशत रहेको छ भने ९७.६३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् ।
भारतमा दैनिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको र सङ्क्रमितको सङ्ख्या दैनिक १० हजारभन्दा बढीले वृद्धि भइरहेको छ । मन्त्रालयका अनुसार कोभिड–१९ निको भएका व्यक्तिहरूको सङ्ख्या तीन करोड १८ लाख २१ हजारभन्दा बढी पुगेको छ । अहिले सङ्क्रमित अवस्थामा रहेका बिरामीमध्ये १.३४ प्रतिशतको अवस्था गम्भीर भएको र उनीहरूले देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार सेवा लिइरहेको बताइएको छ । रासस