प्रस, वीरगंज, १२ भदौ/
वीरगंजमा शनिवार तीन स्थानमा भएको रक्तदान कार्यक्रममा २४ जना महिलासहित १६६ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र, वीरगंजका प्रमुख उदयराज शर्माले बताए ।
मध्यनेपाल सन्देश साप्ताहिकको वार्षिकोत्सवमा पत्रिकाको कार्यालय वीरगंज–८ पानीटङ्कीमा आयोजित रक्तदान कार्यक्रममा नौजना महिलासहित ५१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।
पत्रिकाकी सम्पादक कविता खड्काले रक्तदान गरेर कार्यक्रम शुभारम्भ गरेकी थिइन् । कार्यक्रममा शर्मिला न्यौपाने, मातृका पौडेल, सन्ध्या पौडेल, पूजा पडित, सीता भण्डारी, नीलम पन्त, श्रीराम खतिवडा, प्रदीप विष्टलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, तेरापन्थ युवक परिषद् वीरगंजले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा आठजना महिलासहित ९१ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा रञ्जीत पोखरेल, कोमल खुराना, पूजा वैगानी, श्रृति मनोट, सुनील मनोट, लोकेश जैन, श्वेता वैगानी, जयश्री मनोट, श्वेता बोथियालगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेले बताए ।
रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि अखिल भारतीय तेरापन्थ युवक परिषद्को अगुवाइमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीलाई सम्मान गरिएको थियो ।
जैन श्वेताम्बर तेरापन्थ परिषद् सभा र तेरापन्थ महिला मण्डलको सहयोग रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको टोलीले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा जैन श्वेताम्बर तेरापन्थ नेपाल, बिहार, झारखण्ड सभाका उपाध्यक्ष अशोककुमार बैद, वीरगंज सभाका अध्यक्ष निर्मलकुमार सिन्धी, निवर्तमान अध्यक्ष राजकुमार बैदको सहभागिता थियो ।
यसैगरी, गहवामाई स्टेन स्काउट ग्रुपले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित २४ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।
कार्यक्रममा मनिता लाखे, सीता ढुङ्गाना, इन्द्रदेव साह, बजरङ्ग साह, विशाल सर्राफ, कुन्दन अर्याललगायतले रक्तदान गरेको प्राविधिक कुशवाहाले बताए ।