प्रस, परवानीपुर, ११ भदौ/
वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा भर्खरै सञ्चालनमा आएको सर्वाेत्तम स्टील प्रालिमा बिहीवार भएको भट्टी विस्फोटमा परी घाइते भएकामध्ये छजनालाई भारतको पटना रेफर गरिएको छ ।
बिहीवार राति ९ बजे एम्बुलेन्समा राखेर भारतको पटना लगिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उनले विनोद पाण्डे, सन्तोष कुशवाहा, मान सिया, गगन नायक, रामपुकार यादव र धीरु सहनीलाई थप उपचारको लागि पटना पठाइएको बताए । उनीहरूको शरीर ५०/६० प्रतिशतभन्दा बढी जलेको अवस्थामा भएकोले थप उपचारको लागि पटना पठाइएको पर्सा प्रहरीले जनाएको छ । बाँकी छजना घाइतेको वीरगंजको गण्डकस्थित नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, घटनास्थलको आज सांसद प्रदीप यादव, प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेलगायतले अनुगमन गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा ग्याँस र केमिकल पाइपबाट लिक भएर विस्फोट भएको अनुगमन टोलीलाई उद्योगका मेनेजर आनन्द नेपालले बताए ।