प्रस, निजगढ, ११ भदौ/

निजगढ नपा–९ निवासी ५५ वर्षीय भीमलाल श्रेष्ठ र सोही वडाका अर्का ५५ वर्षीय इन्द्रलाल चौलागाईं घर फर्केर आउने आशा अझै घरपरिवारमा निभेको छैन ।

उनीहरू अपहृत भएको नौ वर्ष भयो । उनीहरूको खोजतलाशमा त्यस बेला लागे पनि केही महीनापछि खोजी कार्यलाई प्रहरी प्रशासनले बेवास्ता गर्दै आएको छ । उनीहरू २०६९ असोज २५ गते बिहान घाँस लिन नजीकैको राष्ट्रिय वनमा गएका थिए । उनीहरू अपहरणमा परेको खबर साँझ परिवारमा जानकारी आयो । चौलागाईंको मोबाइलबाट उनीहरू अपहरणमा परेको जानकारी घरपरिवारलाई गराइएको थियो । त्यसपछि केही दिनसम्म अपरिचित व्यक्तिले फिरौती रकमसमेत माग गरेका थिए ।

केही दिनसम्म ठूलो रकम माग गरे पनि १०/१० लाख रुपैयाँ उपलब्ध गराउने टुङ्गो लागेसँगै फिरौती रकम माग गर्ने व्यक्ति पनि सम्पर्कविहीन भए । त्यस अवधिमा प्रहरी र गाउँलेहरूले वनक्षेत्र र सम्भावित स्थानहरूमा उनीहरूको खोजी कार्य गरिरहे ।

केही दिनसम्म खोजी कार्यलाई व्यापक बनाए पनि फेला नपरेपछि राज्यलाई पत्ता लगाइदिन दबाबस्वरूप पीडित परिवारसहित स्थानीयले सडक अवरुद्ध गरेका थिए । केही महीना प्रहरी प्रशासनले चासो देखाए पनि त्यसयता उनीहरूको खोजी कार्यमा प्रहरी प्रशासन र राज्यका अन्य निकायबाट चासो देखाएको पाइएको छैन । लामो समयसम्म सम्पर्कमा नआएपछि घरपरिवारहरू उनीहरू फर्कने हुन् कि भन्ने झिनो आशामा छन् ।

जहिल्यै पनि याद त आइ नै हाल्छ, तर चाडबाडमा निकै सम्झना आउने र फर्केर आउँछन् कि भन्ने आशा अझै पनि रहेको अपहृत परिवारका सदस्यहरू बताउँछन् । घटना पुरानो भइसकेकोले मिसिल अध्ययन गरी खोजी कार्य अघि बढाउनुपर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता गौतम मिश्रले बताए । त्यस बेला इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता भएको हुन सक्ने भन्दै सो सम्बन्धमा इप्रका निजगढलाई पनि मिसिल खोजी अध्ययन गर्न निर्देशन दिइने प्रनाउ मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here