तिराना, ११ भदौ/सिन्ह्वा
अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ ।
प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीवार जानकारी दिए ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारी र देशको वर्तमान अवस्थाका कारण यस्तो व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
शिक्षा, खेलकूद र युवामन्त्री एभिस कुशी र विद्यार्थीहरू सहभागी एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफूसँगै अरूको समेत सुरक्षाका लागि पनि खोप अत्यावश्यक भएकाले खोप लगाउन हेलचेक्र्याइँ गर्न नहुनेमा उनले जोड दिए ।
सबै मानिसलाई खोप अनिवार्य गर्नु आवश्यक छ तर क्षेत्रगतरूपमा वर्गीकरण गरेर प्राथमिकता निर्धारण गर्नुपर्दछ,” उनले भने ।
खोप लगाउन कसैले चाहने र कसैले नचाहने भन्न नै नपाउने र सरकारले तोकेको समयमा सबैले अनिवार्यरूपमा लगाउनुपर्ने उनले बताए ।
कोरोना भाइरसको महामारी व्यवस्थापन र विश्लेषणका लागि गठित विज्ञहरूको समूहले बुधवार मात्रै थप प्रतिबन्धात्मक व्यवस्था लागू गर्नुनपर्ने निष्कर्ष निकालेको छ तर दैनिक सङ्क्रमितहरूको सङ्ख्या भने धेरै नै रहेको देखिएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएर तिरानाका अस्पतालहरूमा भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीले खोप नलगाएको पाइएको अधिकारीहरूले जनाएका छन् ।
खोप लगाएर पनि सङ्क्रमित भएकाहरूको सङ्ख्या भने ३२ मात्रै रहेको जनाइएको छ । अल्बानियाका झन्डै छ लाख मानिसले दुवै खोप लगाइसकेका छन् । यो सङ्ख्या देशको झन्डै २७ प्रतिशत रहेको स्वास्थ्यमन्त्री ओगेर्था मानास्तिर्लिउले जानकारी दिए ।
अल्बानियामा अहिले कोरोना भाइरसविरुद्धको खोप चरणमा लगाउने अभियान चलिरहेको छ । आगामी सेप्टेम्बरमा १८ वर्ष पूरा भएका सबैलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या एक लाख ४१ हजार ३६५ पुगेको छ । तीमध्ये एक लाख ३१ हजार ८१२ जना सङ्क्रमणमुक्त भएका छन् भने अरू दुर्ई हजार ४८३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । रासस