प्रस, रक्सौल, १० भदौ/

रक्सौल नगरपरिषद् स्वास्थ्य विभाग एवं बालविकास परियोजना कार्यालयले गर्भवती महिलाहरूलाई कोरोनाविरुद्धको खोप दिन शुरू गरेको छ।

बुधवारदेखि खोप दिन शुरू गरिएको कार्यक्रममा पहिलोपटक गर्भवती हुने महिलाहरूलाई धार्मिक कार्यक्रमसहित खोप लगाइएको थियो। खोप केन्द्रमा आएका पहिलोपटक गर्भवती हुने महिलाहरूको लागि ‘गोदभराइ’ कार्यक्रम आयोजना गरिएको थियो। धार्मिक तथा सामाजिक मान्यताका साथ गोदभराइ कार्यक्रम गरिएको थियो। उनीहरूलाई चुरी, टीका, सिन्दूर, नरियल, मौसमी फल र चुनरी ओढाएर गोदभराइ गरिएको र सोपछि खोप लगाइएको थियो।

अनुमण्डल पदाधिकारी आरतीको अगुवाइमा कार्यक्रम भएको थियो। गर्भवती महिलाहरूलाई सो क्रममा खोपपछि कोरोना सङ्क्रमणबाट जोगिन साबुन, सेनिटाइजर, मास्क र तौलिया पनि वितरण गरिएको थियो। कार्यक्रममा पिसिआरओ सन्तोष रञ्जन, सिडिपिओ रीमा कुमारी, निबन्धन पदाधिकारी सन्तोष कुमार, विडियो सन्तोष सौरभ, डा एसके सिंह, युनिसेफका अनिल कुमार, डिएचएनका आशिष् कुमार, डा मुराद आलमलगायत स्वास्थ्यकर्मीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here