प्रस, रक्सौल, १० भदौ/

निजीकरणको विरोधमा रक्सौल युवा काङ्ग्रेसले बिहीवार प्रदर्शन गरेको छ। चौधरी चरणसिंह गोलम्बर कौडिहार चोकमा निजीकरणको विरुद्ध आयोजित विरोध प्रदर्शनमा बिहार युवा काङ्ग्रेसका महासचिव प्रा अखिलेश दयालले सात वर्षदेखि केन्द्र सरकारको अहङ्कारी र तानाशाही प्रवृत्तिले ७० वर्ष पुरानो सरकारी सम्पत्ति निजीकरण भएको आरोप लगाए।

उनले प्रधानमन्त्रीले आफ्ना मित्रहरूलाई सो सरकारी सम्पत्ति सुम्पेको आरोप लगाए। उनले अहिले देशमा महँगीले सीमा नाघेको बताए। सरकारले यसबारे गैरजिम्मेवार जवाफ दिने गरेको उनको भनाइ थियो। महँगी नियन्त्रणमा आएको सरकारी भनाइको उनले आलोचना गरे। वर्तमान सरकारले एनएमपीमार्फत १३ वटा सरकारी कम्पनीलाई निजीकरण गरेको उनले बताए। उनले सन् २०१४ मा प्रधानमन्त्री हुँदा मोदीले देशलाई बिक्री नगर्ने कसम खाएको तर अहिले १३५ करोड जनताको आशा र विश्वासमाथि आघात पु–याएको आरोप लगाए।

उनले पेट्रोलियम पदार्थको लगातार मूल्यवृद्धि, महँगीले जनताको ढाड भाँचिएको, रोजगारबाट युवाहरू वञ्चित भएकोलगायतका समस्याहरू विद्यमान हुँदा सरकार कानमा तेल हालेर बसेको बताए।

विरोध कार्यक्रममा नरेश रावत, नसरुद्दीन अन्सारी, आजाद अन्सारी, मुकेश कुमार, रघुवर प्रसाद, अफरोज आलम, विन्नी पाण्डेलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here