के भारत नम्बर एक आर्थिक महाशक्ति बन्ला ?

0
77

– विश्वराज अधिकारी

विश्व आर्थिक महाशक्तिहरूको श्रेणीमा अहिले (सन् २०२० को तथ्याङ्क अनुसार) एक नम्बरमा संयुक्त राज्य अमेरिका, दुई नम्बरमा चीन र छ नम्बरमा भारत रहेको पाइन्छ। केही वर्षभित्र यो क्रम बदलिएर एक नम्बरमा चीन, दुई नम्बरमा संयुक्त राज्य अमेरिका र तीन नम्बरमा भारत विश्व आर्थिक महाशक्तिको रूपमा उदाउने अनुमान विज्ञहरूले गरिरहेका छन्। केहीले त भारत केही वर्षभित्रै विश्वको नम्बर एक आर्थिक महाशक्ति हुने अनुमानसमेत गरिरहेका छन्। तर भारतको जनसङ्ख्याको प्रकृति, राष्ट्रिय आय वितरणको स्थिति, क्षेत्रीय बजारमा भारतको भूमिका, छिमेकी राष्ट्रहरूसँग भारतको राजनीतिक एवं आर्थिक सम्बन्ध, भारतीय अर्थतन्त्रमा धर्मको प्रभाव, भारतको आन्तरिक राजनीति आदि तत्वहरूको मूल्याङ्कन गर्दा भारत विश्वको एक नम्बर आर्थिक महाशक्ति हुने सम्भावना देखिंदैन। विश्व आर्थिक महाशक्ति हुने दौडमा भारतको स्थान कहिले छैठौं, कहिले पाँचौं त कहिले  चौथोमा नै सीमित हुने देखिन्छ। भारत किन एक नम्बर आर्थिक महाशक्ति हुन सक्तैन ? आउनुहोस यो प्रश्नको उत्तर खोजौं।

क्यानाडा र मेक्सिको दुई निकट छिमेकीहरूसँग अमेरिकाले जसरी सुमधुर सम्बन्ध कायम गरेर राम्रो व्यापारिक फाइदा हासिल गरेको छ त्यस्तो भारतले गरेको छैन र भारतले गर्न सक्ने पनि देखिंदैन, गर्दैन पनि। भारतको पाकिस्तानसँग परम्परागत शत्रुता छ भने नेपाल र बङ्गलादेशसँग पनि राम्रो सम्बन्ध छैन। कश्मीरको समस्याले गर्दा भारत र पाकिस्तानबीच राम्रो व्यापारिक सम्बन्ध स्थापना हुने सम्भावना सुदूर क्षितिजसम्म पनि देखिंदैन। उल्टो भारत र पाकिस्तानबीच स्थापित कटुतापूर्ण व्यवहारले गर्दा उच्च सम्भावना बोकेको क्षेत्रीय बाजर (SAARC South Asian Association for Regional Cooperation) ले प्रभावकारी किसिमले काम गर्न पाएको छैन। यो बृहत् बजारले राम्ररी काम गर्न पाउने हो भने यस क्षेत्रमा विद्यमान बेरोजगारी र गरीबी कम हुने थियो। अफगानिस्तानमा तालिबानीहरूको पुनः कब्जाले भारत रपाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धलाई झनै विध्वंसात्मक बनाउने सम्भावना बढेर गएको छ। भारतले तालिबानको विरोध गर्छ भने पाकिस्तानले तालिबानलाई सहयोग गर्ने मात्र होइन, हातहतियार, प्रशिक्षण आदि पनि दिन्छ भनी विश्वास गर्नेहरू धेरै छन्। अफगानिस्तानलाई लिएर हुने भारत र पाकिस्तानबीचको झगडाले यस क्षेत्रको व्यापारलाई अवश्य पनि प्रभावित गर्नेछ।

राष्ट्रिय आय वितरणको हिसाबले हेर्ने हो भने भारतमा गरीब र धनीबीचको खाडल विशाल गहिरो छ। यति ठूलो अन्तर विश्वमा अन्त कतै सजिलै देख्न पाइँदैन। भारतका धेरै परिवार युरोप र अमेरिकाका अति धनी परिवारझैं धनी छन्। उनीहरू अति विलासी जीवन बाँचिरहेका छन्। तर अर्कोतिर भारतमा अहिले पनि झोपडपट्टीमा बस्नेहरूको सङ्ख्या अति उच्च छ। भारतमा ८ करोड व्यक्ति अहिले पनि झोपडपट्टीमा बस्छन्। विश्वभरि झोपडपट्टीमा बस्नेहरू मध्ये भारतमा १७ प्रतिशतको बसोवास छ। गरीब र धनीबीच यति ठूलो खाडल अमेरिका र युरोपेली मुलुकहरूमा देख्न पाइँदैन। अमेरिका र युरोपमा पनि घरबारविहीनहरू छन् तर यति ठूलो सङ्ख्यामा छैनन्। भारतमा ज्यादै गरीबहरूको सङ्ख्या उच्च बिन्दुमा छ। यो कारणले गर्दा भारत धनी राष्ट्र हुन सक्छ तर प्रतिव्यक्ति आय वितरणको हिसाबले धनी राष्ट्र हुन सक्तैन।

जसरी चीनको राष्ट्रिय व्यापार केन्द्रीय सरकारको नियन्त्रण छ, भारतमा त्यस्तो छैन। भारत एक प्रजातान्त्रिक राष्ट्र भएकोले यसले नियन्त्रण गरेर आफ्ना व्यापारीहरूलाई आफूले चाहेको दिशामा हिंड्न बाध्य पार्न सक्तैन। राष्ट्रिय फाइदाभन्दा आफ्नो फाइदलाई बढी महत्व दिने व्यापारीहरूको विशेष चरित्र भएकोले भारतलाई व्यापारीहरूमाथि  नियन्त्रणकारी कार्य गर्न कठिन हुन्छ तर चीनलाई यो कार्य गर्न कठिन हुँदैन।

कम्युनिस्ट संस्कृतिमा बहुसङ्ख्यक चिनियाँहरू हुर्केका हुनाले उनीहरूमा धर्मान्धता र धार्मिक कट्टरता छैन। यो कारणले गर्दा चिनियाँहरू काम, नाफा र व्यापारलाई अधिक महत्व दिन्छन्। चिनियाँहरूको पहिलो प्राथमितामा आम्दानी पर्छ, धर्म पर्दैन। हजारौं चिनियाँ एकै दिन कुनै स्थानमा पुगेर मन्दिर वा त्यस्तै धार्मिक स्थल चकनाचूर पारेको कहीं, कतै सुनिएको छैन। भारत र अफगानिस्तानमा त्यस्तो भएको छ।

भारतमा धर्मले राजनीतिमा बढी प्रभाव पारेको त छ नै, त्यतिकै प्रभाव व्यापारमा पनि पारेको छ। भारतको जनसङ्ख्या नै धर्मको नाममा विभाजित छ। भारतमा धर्म, नेताहरूको लागि चुनाव जितेर सरकारमा जाने भ–याङ बनेको छ भने अर्कोतिर त्यही अति धार्मिक भावनाले भारतको राष्ट्रिय व्यापारलाई नराम्ररी प्रभावित गरेको छ।

विज्ञान र प्रविधि दुवै क्षेत्रमा चीन भारतभन्दा निकै अगाडि छ। केही वस्तुको उत्पादनमा चीनले उच्च परिमाणमा उत्पादन गर्दा पाइने आर्थिक फाइदा (economy of scale) पाइरहेको छ। खासगरी इलेक्ट्रोनिक सामानहरूको उत्पादनमा उत्पादन लागत कम गर्न चीनले उच्च कुशलता प्राप्त गरेको छ। यो कारणले गर्दा चिनियाँ सामानहरू विश्वका जुनसुकै बजारमा पुग्दा पनि प्रतिस्पर्धी वस्तुहरूभन्दा सस्तो हुन्छ। नेपाली बजारहरूमा हामीले सामान खरीद गर्दा भारतीय वस्तुभन्दा चिनियाँ वस्तु सस्तो रहेको देखे, भोगेको कुरा हो। यो कारणले गर्दा पनि चीनको तुलनामा भारतको राष्ट्रिय व्यापारको आकार तत्काल बढ्ने सम्भावना देखिंंदैन।

भोलिको दिनमा के होला, चीनको मनमा पनि ठूल दाइ हुने भावना जागृत होला, अहिले भन्न सकिने स्थिति छैन, तर आजको दिनसम्म चीनले आफ्ना छिमेकीहरूलाई दबाएर वा आफ्नो सुरक्षा छाताभित्र राख्न खोजेको छैन। चीनले आफ्ना छिमेकीहरूसँग ठूलो दाइको व्यवहार गरेको पनि छैन। आफ्नो राजनीतिक स्वार्थ कुनै राष्ट्रले पूरा नगरिदिंदा त्यस राष्ट्र उपर चीनले व्यापारिक नाकाबन्दी लगाएको सुनिएको छैन। तर भारतले छिमेकी राष्ट्रहरूसँग ठूलो दाइको सम्बन्ध राख्न खोजेको र नेपालमाथि व्यापार नाकाबन्दी लगाएको हामी सबैले देखेको कुरा हो। भारतको यस व्यवहारले भारतलाई नै बेफाइदा पुग्ने देखिन्छ। यसले गर्दा भारतले नेपाल, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानजस्ता मुलुकमा निर्यात गर्दा असहजता महसूस गर्नुपरेको छ।

भारतीय समाजको ठूलो हिस्साले धन प्राप्तिलाई आकस्मिकता वा ईश्वरको कृपा मान्दछ। त्यहाँ कुनै पनि व्यक्ति अत्यधिक धन आर्जन गर्न सफल भएमा उसले आफ्नो कुशलताभन्दा ईश्वरको कृपालाई कारक मान्दछ। भारतीय समाज भाग्यवादी समाज हो। धनको लागि भारतीय समाजले धनकी देवीको पूजा गर्छ। लगभग हरेक व्यक्तिले धन पाउन धनकी देवीको पूजा गर्छ। चिनियाँ समाज कर्मवादी समाज हो। कुनै पनि व्यक्ति धनी हुनुमा उसको कार्यकुशलता जिम्मेवार रहेको विचारमा चिनियाँ समाजले बलियोगरी विश्वास गर्छ। हेर्दा यो कुरा सामान्य देखिए पनि, कुनै राष्ट्रलाई धनी वा कुनै राष्ट्रलाई गरीब बनाउन यसले महत्वपूर्ण भूमिका खेलेको हामीले देखेका नै छौं।

यसबाहेक भारतीय समाजमा काम सँग इज्जतलाई जोड्ने गरिन्छ। यो काम ठूलो यो काम सानो भन्ने भावनाले समाजलाई ग्रसित गरेको छ। सानो मानिएको काम नगर्नाले पनि बेरोजगार हुनेहरूको सङ्ख्या भारतमा उच्च छ।

यस्ता अनेक दृश्य तथा अदृश्य कारणहरू छन् जसले भारतलाई एक नम्बर आर्थिक महाशक्ति हुन दिने छैन। तर एक नम्बर आर्थिक महाशक्ति हुन सक्ने सम्भावना भने भारतमा प्रचूर छ। भारतको जनसङ्ख्या ठूलो छ, दक्ष कामदारहरूको कमी छैन, पूँजीको पर्याप्तता छ, प्रविधिमा अगाडि छ र यस्ता कुराहरूले आर्थिक महाशक्ति हुन सहयोग पु–र्याउँछ। तर उपरोक्त कारणहरूले भारत एक नम्बर आर्थिक महाशक्ति हुन दिने छाँट देखिंदैन।

हुनत भारत नम्बर एक आर्थिक महाशक्ति हुनु नेपालको लगि राम्रो हो। चीन एक नम्बर आर्थिक महाशक्ति हुने स्थितिभन्दा भारत एक नम्बर आर्थिक महाशक्ति हुने स्थितिबाट नेपाललाई राम्रो आर्थिक फाइदा हुन्छ। भारत एक नम्बर आर्थिक महाशक्ति भएको स्थितिबाट आर्थिक फाइदा उठाउनका लागि नेपालले भने भारतबाट असल छिमेकीको व्यवहार र सोच दुवै राम्रो पाउन आवश्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here