बेइजिङ, १० भदौ/सिन्ह्वा

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ। वार्ताका क्रममा उनीहरूले दुर्ई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरू विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए। 

हाल अफगानिस्तानमा देखिएको अवस्थाबारे पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ। चिनियाँ राष्ट्रपति सीले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैं सम्मान गर्ने बताएका थिए। साथै उनले यस विषयमा आगामी दिनमा पनि अफगानिस्तानमा रचनात्मकरूपमा सहयोग गर्ने बताएका थिए।

हाल अफगानिस्तानमा देखिएका समस्याको समाधान रचनात्मकरूपले गर्नका लागि चीनले सहयोग पु–याउने उनले उल्लेख गरेका थिए।

यसका लागि रूससहित विभिन्न देशलगायत अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक छलफल र परामर्श गरेर अफगानिस्तानका समस्या समाधानका लागि चीनले सहयोग गर्ने उनको भनाइ थियो।

साथै अफगानिस्तानमा हाल देखिएको असहज परिस्थितिमा अफगानिस्तान र त्यहाँका नागरिकलाई सहयोग गर्न रूस पनि तयार रहेको राष्ट्रपति पुटिनले बताएका थिए।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले करीब दुई हप्तादेखि अफगानिस्तानमा जारी आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्य यही अगस्त ३१ सम्म सक्ने बताएका छन्।

अमेरिका एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र अगस्त ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको भनाइ उनले बुधवार पनि दोहो–याएका थिए।

यहाँ उडान सङ्ख्यामा वृद्धि गरिएको जानकारी पनि दिइएको छ। आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडान सङ्ख्या थपिएको र आवश्यक कागजपत्रका आधारमा मानिस अफगानिस्तानबाट बाहिरिएका छन्।

काबुल विमानस्थलमा अहिले पनि भीडभाड छ। मानिस भागदौडका कारण विमानस्थल अझै पनि अस्तव्यस्त रहेको बताइएको छ।

विमानस्थलमा अफगानभन्दा पनि बढी विदेशी नागरिकको भीड लागेको छ। अफगानिस्तानको सत्तामा तालिबानी आएपछि एकैपटक हजारौं मानिस देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लागेको हो।

तालिबानीले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले देश छोड्न चाहेका छन्। अहिले पनि विमानस्थलमा आफ्नो देश जान चाहने कम्तीमा पनि दश हजार मानिस रहेका बुधवार बताइएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here