जलेश्वर, १० भदौ/रासस
विगत दुर्ई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी–खोलामा बाढी आएको छ। बुधवार बिहानदेखि नै लगातार परेको भीषण वर्षासँगै जिल्लाका रातो, विग्ही, जंघा, अङ्कुशी, भब्सी, गेरूकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन्।
अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन्। नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जन बढी गाउँँका बासिन्दा त्रसित भएका छन्। उनीहरू बाढीका बेला हुन सक्ने क्षतिविरुद्ध सतर्क अवस्थामा रहन जुटेका छन्।
वर्षायाममा महोत्तरीका धेरैजसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौंलाई विस्थापित बनाउँदै आएको कुरा मध्यनजर गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका हुन्। विभिन्न नदीमा आएको बाढीको खबरले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसहित (जिल्ला दैवी प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्च सतर्क भएको जनाइएको छ।