धानमा पातबेरुवा र सर्लाहवा रोग, किसान चिन्तित

0
95

ओमप्रकाश चौधरी, सेढवा, ९ भदौ/

वर्षे बाली धानमा एकैपटक दुईवटा रोग लाग्दा किसानहरू चिन्तित छन्।

पातबेरुवा (धानको पातको टुप्पोमा  कीरा लागेर सेतो भई सुक्दै जाने) र सर्लाहवा (जरामा कीरा लागेर डाँठ तथा पात रातो भई कुहिने) रोग लागेको छ। यी रोग सोना मन्सुली, सोना सारो, भदई मन्सुली तथा हाइब्रिडलगायतका बालीमा लागेको छ। भदैई मन्सुली तथा सोना सारोमा सर्लाहवा रोगको प्रकोप नदेखिए पनि पातको टुप्पा सुक्ने रोग देखिएको पटेर्वासुगौली गाउँपालिका–४ का किसान गजेन्द्र चौधरीले बताए। यो रोग प्रायः सबैको धानबालीमा लागेको चौधरीले बताए।

रोग नियन्त्रणका लागि कीटनाशक औषधि छरेको तर अहिलेसम्म सुधार नभएको चौधरीको भनाइ छ। ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाका धानबालीमा पनि यी रोगहरू लागेका छन्।

जगरनाथपुर गाउँपालिका–३ बिजबनिया निवासी पलट यादवले औषधि ल्याए पनि दैनिक वर्षा भएपछि छर्न समस्या भएको बताए। गत वर्ष सर्लाहवा रोग मात्रै लाग्ने गरेको तर यस वर्ष पातबेरुवा रोग लागेका कारण धान उत्पादनमा कमी हुने यादवले बताए।

यस सम्बन्धमा जीराभवानी गापाका कृषि प्राविधिक बृजेश साहले यस वर्ष  अत्यधिक वर्षा भएको कारण कीरा तथा कीटाणुको प्रकोप बढेको बताए। उनले पटक–पटक वर्षा भएको तथा चर्काे घाममा किसानले खेतको जोताइ गर्न नसक्दा जमीनभित्रका कीरा र त्यसका अन्डा नष्ट हुन नसक्दा कीराको प्रकोप बढेको बताए। 

बाली वा बोटबिरुवालाई घाम र पानी बराबररूपमा चाहिन्छ तर यस वर्ष वर्षा बढी भएकोले धानबालीमा रोगको प्रकोप बढेको साहले बताए। उनले यी रोग नियन्त्रणका लागि कृषि प्राविधिकसँग सल्लाह लिई २/३ पटक कीटनाशक औषधि छर्न सल्लाह दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here