राजविराज, ९ भदौ/रासस
वैदेशिक रोजगारमा कार्यरत एकजना युवालाई २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गराएको विषयमा छानबिन सुरुआत गरिएको छ। सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अङ्क थपेर २.७५ जिपिए ल्याइ एसइई पास गराएको विषयमा छानबिन शुरू गरिएको हो।
उक्त विद्यालयले वैदेशिक रोजगारमा रहेको युवालाई एसइई पास गराएका विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन शुरू गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले जानकारी दिए।
उनले भने, “एसइई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाइसकिएको र विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावली अनुसार कारबाई प्रक्रिया अघि बढाइनेछ। ”
विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास हुन भएको बताए।
उनले विद्यार्थीको भौतिक उपस्थितिविना अङ्क दिनुपरेको तथा अनुपस्थित लेखिनुपर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको प्रतिक्रिया दिए। कम्प्युटरमा नम्बर चढाउने बेला गलतीले नम्बर चढ्न गएको विद्यालयले जनाएको छ।
सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए। नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानूनबमोजिम कारबाई गरिने उनले बताए।
गोपालका पिता राम सन्त सोही विद्यालयमा कार्यालय सहयोगी रहेका हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फाराम भरेको हुन सक्ने आशङ्का गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतीजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा विद्यार्थीको परीक्षाको अन्तिम मूल्याङ्कन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहनेगरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ।
कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितको मिलेमतोमा अधिकांश विद्यालयले एसइईको नतीजामा अनियमितता गरेको स्थानीयवासीको आरोप छ।