–शरद शर्मा

काठमाडौं, ९ भदौ/रासस

स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ।

मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कुल चेन’ र ‘सुपर कुल चेन’को भण्डारण क्षमता बढाउन थालिएको बताए।

नियमितरूपमा खोप आइरहेकाले त्यसलाई राख्नका लागि भण्डारण क्षमता बढाउन थालेको विभागले जनाएको छ। नेपालमा लक्षित सबै वर्गलाई लगाउनका लागि कुल पाँच करोड २२ लाख मात्रा खोप ल्याउने तयारी रहेको छ। तीमध्ये अहिलेसम्म एक करोड २० लाख मात्रा खोप नेपाल आइसकेको छ।

“मोडर्ना र फाइजर खोप बढी चिस्यानमा राख्नुपर्ने हुन्छ,” उनले भने, “त्यसैले ती खोपलाई आवश्यक तापक्रम अनुसारको भण्डारण क्षमता बनाइनेछ।” ती खोपका लागि आगामी अक्टोबर महीनासम्म भण्डारण क्षमता विस्तार गरिसक्ने उनको भनाइ छ।

मोडर्नालाई १५ देखि २५ डिग्री सेल्सियस र फाइजरलाई ७० देखि ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ। मोडर्नाका लागि सुपर कुल चेन र फाइजरका लागि अल्ट्रा कुल चेनका भण्डारण आवश्यक पर्दछन्। कोभिड–१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा श्यामराज उप्रेतीले सामान्य तापक्रमका लागि भण्डारण गर्ने क्षमता नेपालमा भएपनि अत्यधिक चीसोमा राखिने खोपका लागि भण्डारण क्षमता नभएकाले बनाउन थालिएको बताए। फाइजर खोप ७० देखि ८० डिग्री सेल्सियस तापक्रममा ६ महीनासम्म राख्न सकिन्छ। त्यसपछि दुर्ई हप्तासम्म १५ देखि २५ डिग्री सेल्सियसमा राखेर एक महीनासम्म दुर्ईदेखि आठ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने उनको भनाइ छ।

उनले मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौंमा मात्र भण्डारण गर्न सकिने बताए। “ती दुर्ई खोप यहाँ मात्र भण्डारण गर्ने र यहाँ राखिसकेपछि मात्र प्रदेशमा पठाउने व्यवस्था गर्नुपर्दछ,” उनले भने, “ती दुर्ई खोप राख्नका लागि त्यही अनुसारको तापक्रमको भण्डारण बनाउने तयारी भइरहेको छ।”

मोडर्ना र फाइजर दुवै खोप अमेरिकाबाट ल्याइने भएको छ। फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने भएको छ। मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप पुस महीनाभित्रमा ल्याइने सरकारको तयारी छ।

अहिले आएका भेरोसेल र कोभिशिल्ड खोपका लागि दुर्ईदेखि आठ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ। उनले अहिलेसम्म भेरोसेल र कोभिशिल्ड खोप मात्र भण्डारण गर्नुपर्ने र त्यसलाई एकै तापक्रममा राख्न सक्ने भएकाले समस्या नभएको उनले बताए।

कोभिशिल्डभन्दा भेरोसेल खोपले भण्डारणका लागि धेरै ठाउँ ओगट्ने गरेको आपूर्ति शाखाका प्रमुख ढुङ्गानाले बताए। उनका अनुसार एक करोड मात्रा कोभिशिल्ड खोप राख्ने क्षमतामा दश लाख मात्र भेरोसेल खोप राख्न सकिन्छ। भेरोसेल खोपको प्याकेजिङ ठूलो भएकाले धेरै ठाउँ ओगट्ने गरेको पाइएको छ।

अहिले खोपलाई विभागकै भण्डारणमा राखेर प्रदेशमा पठाइने गरिएको छ। सरकारले असोज मसान्तसम्म एक करोड दुर्ई लाख मात्रा र आगामी चैतसम्म तीन करोड २३ लाख मात्रा खोप अनुदान र खरीद गरेर ल्याउने तयारीमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here