सप्तरी, ९ भदौ/रासस
दुर्ई देशका परिचयपत्र फेला परेपछि एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा छिन्नमस्ता गाउँँपालिका—२ का प्रमोदकुमार मण्डल छन्।
नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए।
जिप्रकाबाट २०६२ भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नं ६६७३ छ। जन्ममिति २०४६ जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र ०६७४५८७४ छ।
उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख छ। दुवै परिचयपत्रमा उमेर करीब एक वर्ष फरक देखिन्छ।