उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्ने बाइडेनको भनाइ

0

काबुल, ९ भदौ/एएफपी

अमेरिकी राष्ट्रपति जो बाइडेनले करीब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धार कार्य समय सीमाभित्रै सक्नुपर्ने बताएका छन्।

सोहीबमोजिम अमेरिकाले काम गरिरहेको पनि उनले जानकारी दिएका छन्। उनले मङ्गलवारको एउटा सम्बोधनमा सो कुरा बताएका हुन्।

अमेरिका एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र अगस्त ३१ भित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको दोहो–याएका छन्।

आवश्यक परे उडान सङ्ख्यामा वृद्धि गर्ने जानकारी उनले दिए। उनले भने–“आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडान सङ्ख्या थपिएको छ र आवश्यक कागजपत्र भएका सबै मानिस अफगानिस्तानबाट बाहिरिन पाउने छन्।

यस प्रयोजनका लागि तालिबानको सहयोगको भने उनले अपेक्षा गरिएको बताए। अमेरिकाले आगामी हप्ता उद्धार मिशन सम्पन्न गर्ने तयारी गरेको तर यसमा तालिबानको सहयोग कस्तो रहन्छ त्यसमा पनि भर पर्ने बताए।

यस कार्यमा यदि कुनै प्रकारको समस्या उत्पन्न भएमा के कस्तो तयारी गर्ने भन्नेबारे अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको जानकारी पनि सो सम्बोधनका क्रममा उनले दिए।

जति चाँडो यो उद्धारकार्य सम्पन्न हुन्छ, त्यति नै राम्रो हुने राष्ट्रपति बाइडेनले बताए। अहिलेसम्म आफूले लिएको उद्धार मिशनमा कुनै असर नपरेको पनि उनले बताएका छन्।

उता तालिबानी लडाकूहरूले भने उद्धार कार्यको समय सीमा थप्न नसकिने बताउँदै आएका छन्। तर पनि त्यहाँबाट विदेशी मानिसलाई बाहिर निस्कन तालिबानले सहयोग गरिरहेको बताइएको छ।

जसका कारण काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अस्तव्यस्त रहेको बताइएको छ।

यहाँ अफगानी बढी विदेशी नागरिकको ठूलो भीड लागेको छ। अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकैपटक हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ।

बितेको अगस्त १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि यहाँको विमानस्थलमा भीड लागेको संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले बताउँदै आएका छन्।

नेटो सैन्य आबद्ध गठबन्धन देशले जारी राखेका उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसका कारण भीड लागेको र ठूलो सङ्ख्यामा मानिस देश फर्कन सङ्घर्ष गरिरहेका छन्।

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

ब्रसेल्स/एएफपी

अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरूको नैतिक कर्तव्य भएको (जी–७)का नेताको भनाइ रहेको छ।

युरोपेली आयोगकी अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताएकी हुन्। उनले भनिन्, यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन्, त्यसैले यस्तो बेलामा उनीहरूलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो।

उनका अनुसार यसका लागि युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन्। उनीहरूले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ भन्ने छ।

उनले भनिन्, यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपियन युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौं।

उनले युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ र यसका लागि युनियनले बजेट छुट्याउने पनि जानकारी दिइन्।

हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन्। जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन्। रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here