हाम्रो समाजका मानिस थेत्तर छन्। सबै सुविधा खोज्छन्, सुविधा पायो भने उपयोग गर्न चाहँदैनन् वा जान्दैनन्। विदेशको सामाजिक व्यवस्थाको बखान गर्छन्, गली–सडक सफा देखेर डाहा गर्छन्, तर आफू अग्रसर भएर शहर, गली सफा राख्ने चेष्टा गर्दैनन्। सिस्टम बसाउन गरिएको प्रत्येक कामलाई आफ्नो स्वतन्त्रतामाथि प्रहार ठान्छन्। आफ्नो दम्भका लागि सडक साँघुरा र गली अँध्यारो पार्छन्, सडकमा जथाभावी सवारी साधन तेस्र्याएर पुरुषार्थी बन्छन्। नियम तोड्नका लागि बनाइएको ठान्छन्। विदेश राम्रो भएको सरकारले गर्दा मात्र होइन, जनताले पनि नियम पालना गरेर भएको कुरामा ठ्याम्मै विश्वास गदैनन्। व्यक्तिले अर्घेलो थप्दै जाने राज्यले समाधान खोज्दै जाने मनोग्रन्थि घनीभूत छ। भौतिक उन्नति त भइरहेको छ, नैतिक र दायित्वपूर्ण उन्नति शून्य छ। लिने संस्कारले समाजलाई गाँजेको छ। सबै लिन जान्दछन्, दिन कोही जान्दैन। दिनु भनेको सानो हुनु हो, लिनु नै ठूलो हुनु हो। यो विकृत मनोविज्ञान समाजमा, हरेक तह–तप्कामा ठुसिएको छ।
पानीलाई तह लगाउन बाँध, नहर, नाला बनाएजस्तै मानिसको स्वेच्छाचारी प्रवृत्तिमा लगाम लगाउन नियमरूपी बाँध, नहर, नाला आवश्यक हुन्छ। जथाभावी नोक्सान गर्दै हिंड्ने पानीलाई बाँध बनाएर रोक्दा र निर्धारित बाटोमा निर्देशित गर्दा धेरै फाइदा हुन्छ। विद्युत् उत्पादन हुन्छ, सिंचाइ हुन्छ। मानिसलाई पनि नियमरूपी बाँध बनाएर तह लगाउँदा समाज, देशले उन्नति गर्छ। वीरगंज नगरमा सवारी साधनहरू, खासगरी सार्वजनिक क्ष्Fेत्रका, जथाभावी सडकमा राख्दा समस्या देखियो। करोडौं रुपियाँ खर्च गरेर नगरपालिकाले बसपार्क बनायो तर बसहरू आज पनि सडकमैं तेर्सिन्छन्, मात्र केही पैसा बचाउनका लागि। हाम्रो समाजको अर्को समस्या यहाँ देखिन्छ। मानिस पैसा खर्च गर्न चाहँदैनन्, जान्दैनन् पनि। बचत गरेको ५०–१०० रुपियाँले समाज कहाँबाट कहाँ पुग्छ भन्ने कुराको तनिक बोध गर्दैनन्। बस पार्कमा पार्किङ गर्दा रु ३० देखि बढीमा रु ७० खर्च हुन्छ। करोडौं लगानी गरेर यातायात सञ्चालन गर्ने व्यक्तिका लागि यति जाबो रकम किन प्यारो ? अनि करोडौं खर्च गरेर बस पार्क बनाउने नगरपालिकालाई त्यस्तो गराउन के समस्या ?
नगरपालिका, अब महानगरपालिकाले, एउटा टो–गाडी खरीद गरेर, सडकमा तेर्सिएका यस्ता लावारिस सवारी साधनलाई आफ्नो मातहतमा लिन सक्छ। सामान्य उपाय हो। ट्राफिक प्रहरीले त्यसमा योगदान दिन सक्छ। प्रशासनिक निकायले होस्टेमा हैंसे गर्न सक्छ। तर कोही अघि सर्दैन। सडक लावारिस सवारी साधन र चौपायाहरूको अभयारण्य बनिरहन्छ। अनि नागरिकले रोदन किन गर्ने ? ट्राफिक प्रहरीले सहयोग गरेन भनेर स्थानीय सरकार किन रुष्ट हुने ? देशमा आज कोही कसैभन्दा सानो छैन। कोही कसैभन्दा ठूलो छैन होइन, सानो छैन। निर्देशन, आदेश, नियमको पालना त सानोले गर्छ। आफूले आफैंलाई सानो नमान्दा निर्देश मान्नै परेन। यै मनोग्रन्थि जटिल छ। सडकमा, फूटपाथमा, गलीमा बजार लाग्छ, व्यवस्थित बजार शहरमा छैन। सबै वडामा कम्तिमा एउटा बजार स्थापना गरेर यो भाँडभैलो हटाउन नसकिने त होइन ? कहीं पालिका अघि सर्नुप–यो, कहीं नागरिकले सहयोग गर्नुप–यो। ट्राफिक प्रहरीकै सहयोग किन खोज्ने ? त्यहाँ काम गर्नेहरू यस नगरका होइनन्। नगरवासीलाई नै आफ्नो चिन्ता छैन भने उसले किन वास्ता गर्ने ?