गाईजात्रा

0

राजधानीमा भदौ ७ का दिन गाईजात्रा पर्व मनाइयो। गाईजात्रा राजधानीमा मात्र हुने मनोविज्ञानले ग्रस्त नेपाल सरकार, जुनसुकै व्यवस्था वा कालको भए पनि मोफसललाई गाईजात्रा मनाउने छुट दिएन। अर्थात् बिदा नै नदिए, केको जात्रा मनाउनु। गाईजात्रा मनाउने चलनबारे बहुश्रुत भनाइ राजा प्रताप मल्लकी पत्नी पुत्रवियोगमा लामो समयसम्म दुःखित भइरहँदा यो सङ्कट सबैको परिवारमा पर्छ भनी रानीलाई चेतना दिलाउन शुरू भएको हो। अर्थात् प्रत्येक वर्ष जुरेको तिथिमा एक दिन जसजसको घरमा मृत्यु भएको छ, उसले गाईजात्रा निकाल्ने चलन चलाइयो। रानी यस दुःखबाट ममात्रै होइन, अरू पनि दुःखी रहेछन्, मैले शोक गरिरहनु उचित होइन भन्ने ठानेर पुनः सामान्य जीवनमा फर्किन्। यो सार कथा हो। तर पछिपछिका शासकहरूले किन हो आप्mनो आलोचना गर्ने, व्यङ्ग्य गर्नेहरूलाई पनि सो दिन छुट दिने निर्णय गरे। अर्थात् जसले जति भाँडभैलो गरेपनि कानून नलाग्ने थिति व्यवस्थित भयो। त्यसैले पछिपछि ठूलो फजिहत भए वा सोचविपरीत काम भएमा गाईजात्रा भयो भन्ने उखान पनि प्रचलनमा आयो।

गाईजात्रा राजधानी शहरमा मात्र मनाइन्छ। यो शतप्रतिशत सही होइन। किनकि मोफसलमा पनि जहाँ–जहाँ राजधानीबाट झरेर मानिसहरू बसे, त्यहाँ सानै रूपमा भए पनि गाईजात्रा मनाउन थालियो। तर सरकारले राजधानीबाहेक मोफसलमा कहिले पनि बिदा दिएन। शायद देशमा सबैभन्दा बढी भाँडभैलो राजधानीमा हुने भएकोले यसो भएको होला। राणाकाल र पञ्चायतकालमा देशमा खुबै भाँडभैलो हुन्थ्यो। त्यसैले तिनताक गाईजात्राको निकै प्रतीक्षा रहन्थ्यो। परम्परागत गाईजात्रालाई हास्य, व्यङ्ग्य, शब्द प्रहारजन्य चलनले अचेट्यो। अनि त पछिपछि शासकहरूको खिल्ली उडाउने, उनीहरूले वर्षभरि गरेका गलती औंल्याउने, आलोचना गर्ने मुख्य पर्व बन्यो गाईजात्रा। अचेल पनि त्यस्तो हुन्छ। तर त्यति प्रभावकारी हुँदैन। किनकि अहिले शासक र गाईजात्रा मनाउनेहरूबीच कित्ताकाटको अवस्था छैन। त्यति बेला शासक थिए र जनता वा रैति थिए। अहिले त रैति नै शासक भएका छन्। यो कुरा पृथक हो कि आज शासक बनेका रैति–प्यादा से फर्जी भयो, टेंढो टेंढो जाय भन्ने उर्दू उखानका पात्र भएका छन्। शतरंजमा प्यादाबाट मन्त्री बन्न पुगेको गोटी टेंढो–तेर्सो जतापनि हिंड्न पाउँछ। त्यसैले मन्त्री बनेकाहरू आप्mनो स्वाभाविक संस्कार बिर्सेर शासक संस्कार अङ्गीकार गर्न पुग्छन्।

तर यसपालि वीरगंजमा सहयात्री समाजले गाईजात्रा मनाएर मोफसलको परिवेशलाई एउटा नौलो आयाम दिएको छ। हुनत वीरगंजमा गाईजात्रा मनाएको आज होइन। परम्परागतरूपमा मनाउँदै आइएको छ। कुरा यति मात्र हो कि थोरै सङ्ख्यामा पुराना पहाडी मूलकाहरूले मात्र मनाउँथे। अरूले यस जात्रालाई स्वीकार गरेका थिएनन्। यहाँ कोही मर्दै–मर्दैन भन्ने होइन। मृत्युलाई प्रकृतिको स्वाभाविक प्रक्रिया मानेर लामो दुःख मनाउ गर्ने न कसैसँग समय थियो, न हताश मानसिकता नै। त्यसैले सरकारले पनि छुट्टी नदिएको हुनुपर्छ। हो, गाईजात्राको जुन हास्य–व्यङ्ग्यको कुरा छ, त्यो तराईको भूभागमा होली पर्वको अवसरमा गरिन्थ्यो। होलीमा भित्ते कार्टून, होलीका साथ समाजका ठूला–बडाहरूको खिसी गर्नु, गाली गर्नु, व्यङ्ग्य गर्नुलाई यहाँ पनि सहृदयताका साथ स्वीकार गरिन्थ्यो। आज त्यो परम्परा लोपप्रायः छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here