प्रस, वीरगंज, ८ भदौ/
वीरगंज बसपार्क आधुनिकीकरण भएको वर्ष बितिसक्दा पनि अहिलेसम्म सबैखाले बस सेवाहरू बसपार्कबाट सञ्चालन हुन सकेका छैनन्।
बसपार्कबाट बस सञ्चालनको लागि कैयौंपटक प्रयास भए तापनि जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले यस सम्बन्धमा चासो नदेखाउँदा बसपार्कबाट सञ्चालन हुन नसकेको हो।
वीरगंजबाट देशका विभिन्न भागमा छ सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन्। छ सय बसमध्ये बसपार्कबाट अहिले आधाभन्दा कमै बसहरू सञ्चालन भइरहेका छन्। बसपार्कमा दैनिक ५० वटा बस मात्रै राति पार्किङ गरिन्छ।
बसपार्क महानगरपालिकाले निजी साझेदार कार्यक्रम अन्तर्गत एनके इन्टरप्राइजेजमार्फत सञ्चालन गर्दै आएको छ। एनके इन्टरप्राइजेजका शिवजी गुप्ताले सञ्चालन हुने बसहरूमध्ये आधाभन्दा कमै बस पार्किङ हुने गरेको बताए। उनले सबै बस यत्रतत्रबाट सञ्चालन हुने र त्यसलाई बसपार्कमा ल्याउन नसकिएको बताए।
वीरगंज महानगरपालिकाले आधुनिक बसपार्क निर्माण गरे पनि अहिलेसम्म वीरगंजको ब्यारेकअगाडि, वीरगंज भन्सार र बसपार्कबाहिरबाट बसहरू सञ्चालन भइरहेका छन्। बसपार्कबाहिरबाट सञ्चालित बसहरूलाई बसपार्कभित्रबाट सञ्चालन गर्न स्थानीय प्रहरी र ट्राफिकले सहयोग गर्ने र व्यवसायीहरूले पनि बसपार्कबाट सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको लामो समय भयो।
वीरगंज बसपार्कमा पार्किङ गर्दा टाटासुमोलाई ३३.९०, मिनीबसलाई ४५.२० र बसलाई ६७.८० रुपैयाँ पटके शुल्क लाग्दछ। तर सामान्य दररेटमा पनि बसहरू पार्किङ गरिएको छैन। सडकमा यत्रतत्र पार्किङ गर्ने प्रवृत्तिलाई रोक्न ट्राफिक प्रहरीले चासो देखाएको छैन।