सरकारको गलत नीतिले उद्योग–व्यापार चौपट –वक्ताहरू

0

राधेश्याम पटेल, परवानीपुर, ८ भदौ/

परराष्ट्र मन्त्रालयको आयोजनामा वीरगंजमा आयोजित अन्तरक्रियामा सहभागी वीरगंजका व्यापारीहरूले सरकारको गलत नीतिका कारण उद्योग–व्यापारको अवस्था नाजुक भएको र विदेशी लगानी भित्रिन बन्द भएको आरोप लगाएका छन्।

‘नेपालको निर्यात व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनमा परराष्ट्र मन्त्रालय र विदेशी नियोगको भूमिका’ विषयक अन्तरक्रियामा व्यवसायीहरूले सरकारका विभिन्न गलत नीतिका कारण उद्योग, व्यापार, पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएका र विदेशी लगानीमा सञ्चालित उद्योगहरूले थप समस्या भोग्न परिरहेको आरोप लगाएका छन्।

वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक बैदले सरकारी नीतिको कारण नेपालमा विदेशी लगानी जुन हिसाबमा आउनुपर्ने थियो, सोअनुरूप नआएको बताए। उनले ‘विदेशीले किन उद्योग लगाउने, मुद्दा लड्नको लागि’ भन्दै प्रश्न गरे। बैदले कन्साई नेरोलक पेन्ट्समा आफूले पाँच वर्षसम्म मुद्दा लडेको बताए। उनले भने– विदेशी ब्रान्ड नाइक र रिबोक जुत्ताको पनि यहाँ ब्रान्ड दर्ता गरेर जालझेल गर्ने व्यवसायीहरू बसेका छन्। एउटा उद्योग खोल्न २/३ वर्ष लाग्छ। पहिले फर्म दर्ता गर, अनुमति लेउ, वातावरणीय प्रभाव मूल्याङ्कन, बिजुली, जग्गाको समस्यालगायतले पनि उद्योग लगाउन नेपालमा झन्झट रहेकोले विदेशी लगानी नभित्रिएको दाबी गरे। बैदले सरकारले ‘वन विन्डो सिस्टम’बाट काम र सेवा दिन भने पनि व्यवहारमा लागू नभएको र व्यवसायीले दुःख भोग्नुपरेको बताए। उनले सरकारी नीतिका कारण हरेक ठाउँमा पैसाको बलमा फाइल बढ्ने प्रवृत्ति रहेको खुलासा गरे। उनले उद्योग विभाग, राजस्व विभाग, स्थानीय पालिकालगायत सबै कार्यालयमा भ्रष्टाचार बढेको बताए। उनले स्थानीय तहमा सबैभन्दा बढी दुःख दिनेमा वडाध्यक्षहरू रहेको बताए। पैसा लिएर मात्र चौहदी प्रमाणित गर्ने गरेको बैदको आरोप थियो।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले पहिले र अहिलेको समयमा निकै परिवर्तन आइसके पनि सरकारले रोजगार सिर्जनाको लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए। उनले परराष्ट्र मन्त्रालयको उदासीनताका कारण विदेशी नियोग र त्यहाँका उद्योगी–व्यवसायीबाट व्यापारमा सहयोग नभएको आरोप लगाए।

वीउवासङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानीले भारतको समुद्री क्षेत्रबाट १४ सय किलोमिटर टाढा रहेको दिल्लीमा ढुवानी गरिने सामानभन्दा कोलकाताबाट ७ सय किलोमिटर टाढा रहेको वीरगंजमा सामान भिœयाउँदा बढी खर्च लाग्ने गरेको बताए। यसबारेमा अढाई दशकदेखि आवाज उठाए पनि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले कुनै चासो नदिएको उनले गुनासो पोखे।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले नेपाल–भारत सीमा लामो समयसम्म बन्द हुँदा पर्सा, बारा क्षेत्रसँगै हेटौंडा चितवन, काठमाडौं, पोखरालगायतका होटल तथा पर्यटन व्यवसाय धराशयी बनेको बताए। उनले मापदण्ड पूरा गरी सीमाबाट भारतीय गाडीको आवागमन सहज बनाउन सुझाए। भारतबाट मालसामान बोकेर गाडी आउने, सीमाबाट अवैधरूपमा हजारौं व्यक्ति ओहोरदोहोर गर्दा कोरोना नसने तर यात्रुवाहक सवारी लिएर भारतीय आउँदा कोरोना सर्ने जस्तो सङ्कुचित भावनाले सरकार ग्रसित रहेको आरोप लगाए। अध्यक्ष गुप्ताले दुई वर्षसम्म बन्द सीमाको असर दशकौंसम्म पर्ने चेतावनी दिए।

 कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मी, वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, परराष्ट्र मन्त्रालयका उपसचिव किरण शाक्य, ध्रुवराज भट्टराई, उद्धव लामिछाने, परराष्ट्र मन्त्रालय सम्पर्क कार्यालय वीरगंजका सुमेशचन्द्र द्विवेदीलगायतको सहभागिता थियो। कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष माधव राजपालले कार्यपत्र प्रस्तुत गरेका थिए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here