ठोरीमा भाइरल ज्वरोको प्रकोप

0

प्रस, ठोरी, ८ भदौ/

ठोरी गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। अहिले ठोरीका क्लिनिकहरूमा भाइरल ज्वरो उपचार गराउनेहरूको भीड लागेको छ।

गर्मी, वर्षासँगै मौसममा आएको परिवर्तनले भाइरल ज्वरोका बिरामी बढेको सुवर्णपुरमा उन्नति मेडिकल हल सञ्चालक सुरेश साहले बताए। उनले दैनिक १०–१५ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने  गरेको बताए। ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, शरीर दुख्नेलगायत लक्षण बिरामीमा देखिएको साहले बताए। विजयबस्तीस्थित पर्सा हेल्थ क्लिनिकमा पनि बिरामीहरूको चाप बढेको छ। अधिकांश बिरामीमा टाइफाइड देखिएको क्लिनिक सञ्चालक अश्विनीकुमार यादवले जानकारी दिए।

गौरो क्लिनिकका सञ्चालक अजबीनाथ गौरोका अनुसार प्रतिदिन १५ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको र उनीहरूमध्ये ५० प्रतिशतमा टाइफाइड देखिएको बताए।

ठोरी गापा–४ का हस्तबहादुर पाख्रिनले आफ्नो घरका सबै सदस्य भाइरल ज्वरोले ग्रसित भएको बताए। त्यस्तै उनका छिमेकी टङ्कप्रसाद तिमल्सिनाका सम्पूर्ण परिवार पनि ज्वरोको चपेटामा छन्। भाइरल ज्वरो सरुवा रोग भएकोले घरका एकजनामा देखिएपछि अन्य सदस्यलाई पनि सर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

मौसम परिवर्तनको समय भएकोले यतिबेला ज्वरोका बिरामी बढ्नु स्वाभाविक भएको ठोरी गापाका स्वास्थ्य संयोजक रमेशराज थिङले जानकारी दिए। उनले ठोरीमा ज्वरोका बिरामीको सङ्ख्या बढेको भए पनि महामारी नरहेको बताए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here