अभिभावक, युवा र सीप 

1

– राजेन्द्रप्रसाद कोइराला

“इतिहासले भन्छ हिजो सुख थियो, विज्ञानले भन्छ भोलि सुख हुनेछ, धर्मले भन्छ “मन सङ्लो र हृदय राम्रो छ भने प्रत्येक दिन सुखानुभूत हुन्छ।” – गीता

जीवन सहज बनाउन केटाकेटीलाई सानैदेखि दीक्षित गर्नु जरूरी छ। जीवनलाई प्रतिस्पर्धी हैन, प्रेरणाप्रद बनाउन सिकाउनुपर्छ। विश्व भूमण्डलीकरणको प्रभावले हामीले आफ्नो परम्परा, धर्म, संस्कार र संस्कृति बिर्संदै गइरहेका छौं। आधुनिकताको नाममा पश्चिमाकरण श्रेष्ठ ठान्न थालेका छौं। महँगो मोबाइल बोक्नुलाई हैसियत ठूलो ठान्ने भ्रमबाट आजका केटाकेटी ग्रसित छन्। २५–३० वर्षका युवा पनि बाउआमाकै  कमाइमा रजाइ गरिरहेको पाइन्छ। उनीहरूले गल्ती गर्दा केही भन्यो भने उनीहरूलाई आघात पर्छ रे ! कुनै पनि बाउआमा आफ्नो सन्तानको भविष्य बिग्रोस् भन्ने चाहँदैन। अभिभावकको पनि दोष छ। सन्तानको प्रत्येक माग पूरा गर्नु उचित ठान्दछौं। यहीं हामी चुकिरहेका छौं। यसले उनीहरूको मोह भौतिकतातिर ज्यादा र भावनात्मक सम्बन्ध टाढिंदै जान्छ। केटाकेटीहरू बाउआमालाई माग आपूर्ति गर्ने साधन ठान्न थाल्छन्। अनुशासनहीनताले गर्दा उनीहरूमा माया, ममता, करुणा, श्रद्धाको विकास हुन सकिरहेको छैन। स्वतन्त्रताको नाममा अधिकांश युवामा छाडातन्त्र र स्वच्छन्द प्रवृत्तिको विकास भइरहेको छ। २०६३ सालपछिको पीढीको त कुरै के गर्नु !

काठमाडौं युनिभर्सिटीको एमफिल प्रवेश परीक्षामा उत्तीर्ण ३५ जना छात्रछात्राको अन्तर्वार्तामा डाक्टर अच्युत वाग्लेले आफूले पढेको कुनै एउटा पुस्तकको व्याख्या गर भन्दा ३२ जना निरुत्तर थिए। एमबिएका केही विद्यार्थीलाई मैले प्रश्न गरें–“अहिले देशमा कतिजना मुख्यमन्त्री छन् ?” ४५ जनामध्ये ४० जनाले जिज्ञासा प्रकट गरे–“सर मुख्यमन्त्री भनेको के हो ?

सामाजिक सञ्जालको व्यापकताले संसार एउटा सानो गाउँजस्तो भएको छ। यसले दुनियाँलाई साँघुरो बनाइदिएको छ। यसले भिœयाएको विकृति र विसङ्गतिले सामाजिक संरचना नै ध्वस्त बनाएको छ। facebook / instragram को कुलतले बालबालिका झर्किने, आक्रामक हुने मनोवैज्ञानिक समस्या विकसित हुँदै गएको छ। यसको निदान अभिभावक नै हुन्। हामीले उनीहरूलाई समय दिने, नातेदार, छिमेकीसँग परिचय गराउने, घरेलु क्रियाकलापमा संलग्न गराउने, सामाजिक कार्यमा उपस्थित गराउने र आफ्नो धर्मशास्त्रबारे जानकारी दिने गरियो भने उनीहरूमा भावनाको विकास हुन्छ। अहिलेका केटाकेटीमा भावना नै मरेर गएजस्तो छ। उनीहरूको भौतिक माग पु–याउन सकियो भने सबभन्दा राम्रो अभिभावक, नत्र दुश्मन भन्ने मनोग्रन्थिले हामी नै ग्रस्त छौं। अब सीपका केही कुरा गरौं–सबै ज्ञानी मानिस सिपालु हुँदैनन्। जीवन बाँच्ने कला र सीपको अभावमा मानिस धेरै तनावमा छ। ज्ञानसहितको सीप र दक्षताले मानिसलाई प्रखर र महान् बनाउँछ। तर मानिस ज्ञान सर्वोपरि, सीप आवश्यक छैन भन्ने ठान्दछ। जबकि जीवनोपयोगी सीपले जीवनका जटिलता र गाँठा सजिलै फुकाइदिन्छ।

मानिसले सबैसँग मित्रवत् व्यवहFर गर्ने, अन्तव्र्यक्ति सञ्चार स्पष्ट गर्न सक्ने, सबैसँग घुलमिल हुन सक्ने, विचार, धारणा र चासो उपयुक्त किसिमले, उपयुक्त मानिस वा समूहबीच प्रस्तुत गर्न सक्ने कला र सीपको विकास हुनु जरूरी छ। ज्ञान, बल र बुद्धि परिपूर्ण छ तर प्रयोग र प्रस्तुति समुचित भएन भने खासै अर्थ र औचित्य रहँदैन। अरूका विचार ध्यान दिएर सुन्ने, सबैसँग सुसम्बन्ध विस्तार गर्ने, मुहार सधैं हँसिलो राख्ने, अरूका राम्रा कुराको प्रंशसा गर्ने, सुधार गर्ने कुरामा सकारात्मक पृष्ठपोषण गर्न सक्ने सीप एउटा असल मानिसका लागि अपरिहार्य हुन्छ। अरूको कुरा नसुनी आफूमा ज्ञानको ज्योति बल्दैन।

त्यसैले अरूले बोलेको सुन्नु मात्र भन्दा ती शब्दमा आफूलाई केन्द्रित गर्नुपर्दछ। शब्द मात्र सुनेर पुग्दैन, विषय–वस्तु बुझ्नुपर्दछ। विषय–वस्तु बुझेर मात्र पुग्दैन, भावार्थ बुझ्नु जरूरी हुन्छ। सुन्ने सीपको विकासले मानिसमा ज्ञानको भोक जगाइदिन्छ। त्यस्तै आफ्नो प्रस्तुतिलाई ओजिलो र प्रभावकारी बनाउने कला, सबैका सामु पेश हुने कला, विभिन्न भाषामा अभिव्यक्त गर्ने कला, लेखन शैली, सम्झौता गर्ने सीप, सहजीकरण गर्ने सीप, नेतृत्व सीप, व्यवस्थापन सीप, ज्ञानलाई व्यवहारमा परिणत गर्ने सीप सिर्जनशील मानिसका लागि अपरिहार्य र निर्विकल्प तत्व हुन्।

जीवनको सबभन्दा ठूलो शक्ति प्रेम हो भने सबभन्दा ठूलो सम्पत्ति विश्वास हो। अरूलाई दिनु वा त्याग गर्नुमा जुन आनन्द छ, त्यो अन्यत्र प्राप्य छैन। तर मानिसले प्रेम कसरी गर्ने, सबैसित विश्वासको वातावरण कसरी बनाउने, त्याग र समर्पण कसरी गर्नेजस्ता सीप प्रयोगमा ल्याउन सकेको छैन। प्रेमबारे कथा पढेको छ तर सबैलाई प्रेमको रसास्वादन गराउन सक्दैन। दान, परोपकारिता, करुणा, कृतज्ञताजस्ता कुरामा लामो बहस र छलफल गर्न सक्छ तर त्यसलाई वास्तविक र व्यावहारिक जीवनमा लागू गर्ने सीप छैन भने त्यो सैद्धान्तिक ज्ञानको कुनै उपादेयता रहँदैन।

 उपयुक्त र प्रभावकारी प्रस्तुति, अन्तव्र्यक्ति सञ्चार सीप, निर्णय गर्ने सीप, परिकल्पनालाई नतीजामा परिणत गर्ने उत्कट चाहना, तनाव व्यवस्थापन गर्ने सीपजस्ता जीवनोपयोगी सीपको आर्जनविना जीवन सहज हुँदैन।

कुनै विश्वविद्यालयका जीवशास्त्रका  प्राध्यापकले आफ्ना विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षा प्रदान गरिसकेपछि त्यसको व्यावहFरिक अध्ययन गर्न विभिन्न कर्म क्षेत्रमा पठाए। विद्यार्थीलाई विभिन्न प्राणीको जीवन–चक्र, शारीरिक बनोट, पाचन–क्रिया, खानपान, आहार–विहार सबैमा अध्ययन गर्न भनियो। एकजना विद्यार्थी भ्यागुतामा अनुसन्धान गर्न थाले। उनी खेतमा पुगे र पहेंलो रड्ढो ठूलो भ्यागुता समातेर ल्याए।

उनले भ्यागुताको एउटा खुट्टा काटे र भ्यागुतोलाई उफ्रन भने, भ्यागुतो सजिलै उफ्र्यो। उनी एउटा खुट्टा काट्दा पनि भ्यागुतो सजिलै उफ्रन सक्छ भन्ने निष्कर्षमा पुगे। त्यसपछि भ्यागुतोको अर्को खुट्टा पनि काटे। दुवै खुट्टा काटिएको भ्यागुतो अब बिस्तारै उफ्रियो। दुवै खुट्टा काट्दा पनि भ्यागुतो सजिलै उफ्रन सक्छ भन्ने उनको खोजले देखायो।

अध्ययनकै क्रममा भ्यागुतोको खुट्टा काट्दै गए। चारै खुट्टा काटिएको भ्यागुतालाई उफ्रन भने, भ्यागुतो उफ्रन सकेन। अनुसन्धानको उपलब्धिमा लेखे–“चारवटै खुट्टा काटिएपछि भ्यागुतो कान सुन्दो रहेनछ।” विद्यार्थीले आफ्नो प्रतिवेदन प्राध्यापकलाई बुझाए।

सिकाइ सैद्धान्तिक कुरा पढेर मात्र हुँदैन। त्यसको व्यावहारिक प्रयोग जान्न जरूरी छ। पढेको कुराको औचित्य त्यति बेला मात्रै पुष्टि हुन्छ, जब त्यसको सही प्रयोग गर्न सकिन्छ। अनुसन्धानकै आधारमा सिद्धान्त प्रतिपादन हुने हुँदा अनुसन्धान गर्ने मान्छेले सही र उचित निष्कर्ष ल्याउन नसक्दा पूरै सिद्धान्तमाथि असर पर्छ। त्यसैले अध्ययन, अनुसन्धान र मूल्याङ्कन गर्न सही विधि र योग्य मानिसको चयन उचित हुन्छ।

जानेको छ भन्दैमा सबै कुरा सबै ठाउँमा लागू गर्नुहुँदैन। सबै कुरा सबै ठाउँका लागि उपयुक्त हुँदैन। प्रत्येक कुराको आफ्नो सीमा हुन्छ। त्यसको सही र उपयुक्त प्रयोग गर्न जान्नुपर्दछ। औसतको सूत्र प्रयोग भएको व्यवस्थापनले कहिल्यै समानता ल्याउन सक्दैन। त्यसैले समानता प्रत्येक घर र व्यक्तिलाई प्रत्यक्ष समावेशी हुनेगरी सूत्रबद्ध हुनु जरूरी छ। सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने सीपले नै जीवन सफल बनाउन सकिन्छ।।

व्यक्तिको दृष्टिकोण, सोचाइ, चरित्र तथा प्रवृत्ति वा मनोवृत्तिलाई धारणा भन्ने बुझिन्छ। प्रवृत्ति व्यक्तिले बोक्छ भने व्यवहFरले प्रवृत्तिलाई प्रतिविम्बित गर्छ। प्रवृत्तिले व्यक्तिको सैद्धान्तिक पक्षको प्रतिनिधित्व गरेको हुन्छ भने व्यवहारले कार्यान्वयन पक्षको। त्यसैले यी एकअर्काका परिपूरक हुन्।

सुखमय अनुभव, राम्रो व्यवहार र असल प्रभावबाट मानिसको जीवनमा सिर्जित प्रवृत्ति सकारात्मक हुन्छ। सकारात्मक प्रवृत्तिले मानिसको शैक्षिक, बौद्धिक, मानसिक, शारीरिक, नैतिक एवं व्यावहारिक आदि विभिन्न पक्षको विकासमा टेवा पु–याउँछ। सकारात्मक प्रवृत्तिले ज्ञान, सीप बढाउन र उत्प्रेरणा जगाउन तथा त्यसको विकासमा ठूलो मदत गर्छ।

सकारात्मक प्रवृत्ति तथा व्यवहारलाई जीवनको संस्कार बनाउने मानिसहरू सहयोगी, परोपकारी, परिश्रमी, साहसी, मृदुभाषी, मिलनसार, धैर्यवान्, निस्स्वार्थी, कर्तव्यनिष्ठ, आत्मविश्वासी, इमानदार, आत्मीय, सन्तुष्ट र अरूको प्रशंसा गरेर रमाउने खालका हुन्छन्। सकारात्मक धारणा भएका मानिस जहिले पनि हवाइ जहाज बनाउने सपना देख्छन्, नकारात्मक सोच भएका मानिस प्यारासुट बनाउने सपना देख्छन्। आशावादी मानिसहरू हरेक समस्यामा अवसर देख्छन्। निराशावादीहरू हरेक अवसरलाई समस्या देख्छन्। कवि शिरोमणी लेखनाथ पौडेलले सकारात्मक तथा नकारात्मक दुवै धारणाबारे लेखेका छन् –

थोत्रो पाटी उज्यालो, मलीन, तृणकुटी, कन्दरा झन् उज्यालो।

भिक्षाभारी उज्यालो, अझ घन वनको सागसिस्नु उज्यालो।

फ्याङ्लो गुन्द्री उज्यालो, वरपर घुम्दा जीर्ण कन्था उज्यालो।

त्यस्तै दुःखद वा नमीठो अनुभव, नराम्रो व्यवहार, घृणा आदिको प्रभावबाट मानिसको जीवनमा सिर्जना भएको प्रवृत्ति नै नकारात्मक प्रवृत्ति हो। नकारात्मक प्रवृत्ति तथा व्यवहारका मानिस पूर्वाग्रही, घमण्डी, कुविचारी, भ्रष्टाचारी, असहयोगी, स्वार्थी, रिसाउने, झगडालु, ईष्र्यालु, आत्मग्लानिमा बाँच्ने, अवरोध मन पराउने, भेदभाव गर्ने, अपहेलना रुचाउने, बाधा–विरोध गरिरहने, विभेदकारी, विनाशको बाटो रोज्ने, रिस र डाहले सम्पन्न हुन्छन्।

मानिसमा सबै कुरा नकारात्मक मात्र हुन्छ भन्ने छैन। नकारात्मकताभित्र पनि सकारात्मकता हुन सक्छ। त्यसैले हाम्रो जीवनमा केको अभाव छ त्यो नहेरौं, के छ, त्यो हेरौं। किनकि जहाँ हामी आफ्नो ध्यान लगाउँछौं, जीवनमा त्यही कुरा बढ्दै जान्छ। तर सबै मानिस हामीले सोचेजस्ता हुँदैनन्।

असल धारणा र नियत नभएको मानिस जति नै ठूलो भए पनि काम लाग्दैन। कुनै पनि काम गर्न, सामाजिक परिवर्तन गर्न र व्यक्तित्व विकास गर्न सकारात्मक धारणा अत्यावश्यक छ। जुन व्यक्तिको धारणा नै गलत र पूवाग्रही छ त्यस्तो मानिसबाट निर्माणभन्दा ध्वंस हुन्छ। एकजना विद्वान्ले भनेका पनि छन्–कुनै नयाँ कुराप्रति असल धारणा बनाउनु ५० प्रतिशत कार्य सम्पन्न गर्नु हो। निश्चय नै असल धारणा राखेर शुरूआत गरेको काम छिट्टै सफल हुन्छ। अनावश्यक हठ र तर्कले समयको बर्बादीबाहेक केही हुँदैन। भनिन्छ सकारात्मक छलफल गर्नु विद्वताको परिचायक हो भने अनावश्यक तर्क गर्नु मूर्खहरूको कर्म हो।

“पिता पुर्खाको धनमा के घमण्ड गर्नु ? गज्जब र चमत्कार त तेतिखेर हुन्छ जब यश र सम्पत्ति तिमीले कमाउँछौ

अनि गर्व र घमण्ड तिम्रो पिताले गर्न पाउनुहोस्।” चाणक्य

(लगभग ८ वर्षपछि फेरि प्रतीक दैनिकसँग जोडिन पुगेको छु। महीनामा दुईवटा भए पनि लेख पेश गर्ने प्रतिबद्धता गर्दछु। टिप्पणीको आशामा)

Koiralarp46@gmail.com

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

1 COMMENT

  1. Totally agree with your writing. हाम्रो समाज धेरै नै देखावटि भइसकेको छ । बुबा आमा ले पनि आफ्नो छोरा छोरी को शिक्षा, ब्यवहार को बिकास भन्दा पनि अब मान्छे ले के भन्छन तेस्को आधारमा केही सिकाउने गर्छन् । अब दोस समाज लाइ दिने कि आमा बुबा लाइ दिने कि ती छोरा छोरी लाइ दिने जो ज्ञानी र असल हुन सकेनन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here