भारतमा सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम

0

नयाँ दिल्ली, ८ भदौ/एएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछिकै सबैभन्दा कम छ। सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

यसैसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २४ लाख ७४ हजार ७७३ पुगेको छ। पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजारदेखि ४० हजारबीच रहँदै आएकोमा आज २५ हजारको हाराहारीमा झरेको मङ्गलवार जनाएको छ।

दैनिक सङ्क्रमितको सङ्ख्या कम भएपछि भारतमा कोरोना भाइरसको महामारी नियन्त्रण उन्मुख हुँदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन्।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीले जनाएका छन्। यो सङ्ख्या १५६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३५ हजार ११० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। तीमध्ये पछिल्लो २४ घण्टामा ३५४ जनाको मृत्यु भएको हो।

कोरोना परीक्षण पनि तीव्ररूपमा भइरहेको छ। पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ। योसँगै अहिलेसम्म कुल ५० करोड ९३ लाखभन्दा बढीको परीक्षण भएको छ।

भारतमा अहिलेसम्म कुल ६३ करोड ८५ लाखभन्दा बढी डोज कोरोना भाइरसविरुद्ध खोप दिइसकिएको त्यहाँको मन्त्रालयले जनाएको छ। रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here