प्रस, वीरगंज, ७ भदौ/

वीरगंजमा यस वर्ष नेवार समुदायबाहेकले पनि गाईजात्रा पर्व मनाएका छन्।

परिवारका सदस्यहरूको मृत्यु भएको वर्ष गाईजात्रा निकालिने गरिन्छ। वीरगंजमा रहेका नेवार समुदायले पितृशोकमा गाईजात्रा निकालेका थिए। यस वर्ष सहयात्री समाज नेपालले पनि गाईजात्रा पर्व मनाएको छ। वर्षभरि दिवङ्गत भएका तेस्रो लिङ्गी, समलिङ्गीको सम्झनामा गाईजात्रा मनाइएको सहयात्री समाज नेपाल, पर्साकी संयोजक समता बमले बताइन्। सहयात्री समाजको अगुवाइमा निकालिएको गाईजात्रा नगरपरिक्रमा गरी माईस्थान पुगेर समापन भएको थियो।

माईस्थानमा गाईजात्राको अवसरमा वर्षभरि मृत्यु भएका तेस्रोलिङ्गी, समलिङ्गीको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको थियो। सो अवसरमा संयोजक बमले सामाजिक विभेदबाट समलिङ्गी, तेस्रो लिङ्गीले अहिलेसम्म मुक्ति नपाएको बताइन्।

उनले सामान्य मानिसभन्दा फरक व्यवहार भएकै कारण समाज र घरपरिवारबाट समलिङ्गी र तेस्रो लिङ्गीले विभेद खेप्दै आएको र यसमा खासै परिवर्तन हुन नसकेको बताइन्।

कार्यक्रममा उपप्रमुख शान्ति कार्की, वडासदस्य नेसा खातुन, सङ्गीता दास, सुरज पटेललगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here