प्रस, सेढवा, ७ भदौ/

पर्साको ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा भौतिक उपस्थितिका साथ अध्यापन शुरू भइरहेको छ।

एकपछि अर्को गरी सामुदायिक विद्यालयहरूमा भौतिकरूपमा विद्यार्थीहरूलाई उपस्थित गराएर अध्यापन शुरू गराइएको हो। वीरगंज महानगरपालिकामा कक्षा ८ देखि १२ सम्मको अध्यापन भौतिकरूपमा शुरू भएपछि ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरू पनि सञ्चालनमा आउन थालेका हुन्।

यसै क्रममा सखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण आदर्श नमूना माविमा कक्षा ६ देखि १२ सम्म भौतिकरूपमा उपस्थिति गराएर विद्यालय सञ्चालन भएको छ। विद्यालयका प्रधानाध्यापक शिवनाथ महतो थारूले कक्षा ६ देखि १२ सम्मको अध्यापन शुरू भएको बताए। उनले गापाको निर्देशनमा विद्यालयको सरसफाइ, विसङ्क्रमित गरेर बिहान १० देखि ४ बजेसम्म सञ्चालनमा ल्याएको बताए।

पर्सागढी नगरपालिकाले पनि सूचना जारी गर्दै भदौ १० गतेदेखि कक्षा ८ देखि १२ का विद्यार्थीहरूलाई भौतिकरूपमा उपस्थित गराइ अध्यापन गराउन निर्देशन जारी गरेको छ।

ठोरी गापाका शिक्षा शाखा प्रमुख भोपाल जोशीले सामुदायिक विद्यालय सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। उनले गापामा भाइरल ज्वरो, रुघाखोकी, टाइफाइडको प्रकोप भएकोले तत्काल यी रोगको प्रकोप कम हुनासाथ सामुदायिक विद्यालय सञ्चालनमा ल्याउने बताए। उनले पालिकास्तरीय शिक्षा समितिको बैठक बसी तोकिएको सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको बताए।

जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर, धोबिनी, छिपहरमाई, पकाहामैनपुर गाउँपालिका र पोखरिया नगरपालिकामा भने घोषितरूपमा सामुदायिक विद्यालय सञ्चालनमा छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here