तराईमा बन्ने सडक होस्, पहाडमा बन्ने खानेपानी आयोजना वा पुल होस् वा उच्च हिमाली क्षेत्रमा फलाइने फलफूल हुन्स सबैको हविगत एउटै छ। काममा लापरवाही, अध्ययन–अनुसन्धानको कमी, विभिन्न निकायको स्वार्थ र मानिसको द्रव्य–मोह। तराईको जीवन–रेखा कहलिने हुलाकी राजमार्ग, बन्न पाएको छैन, भत्कन शुरू भइसक्यो। यसमा दोष ठेकेदारको मात्र छैन, सरोकारवाला सबैको उत्तिकै दोष छ। सरोकारवाला भनेपछि सरकार, सम्बद्ध विभाग र उपभोक्तासमेत। यसमा भौतिक कमजोरी सबभन्दा बढी ठेकेदारको हुन्छ भने नैतिक कमजोरी सरकार र सम्बद्ध विभागको र उपभोक्ताको तातै खाउँ, जली मरूँ भन्ने मानसिकता। ठेकेदारले काम पाउनुमा पुरुषार्थ देख्छ। त्यसैले गतिलो काम हुनै नसक्नेगरी टेन्डर भर्छ। यद्यपि ठूलो निर्माण कार्यमा यस्तो हुँदैन, तर सरकारमा बस्ने माथिल्लो तहदेखि, विभाग, आयोजना प्रमुख, इन्जिनीयर, ओभरसियर र सुपरभाइजरसम्मको मुखमा ठेकेदारले बुजो लगाउनुपर्ने हुन्छ। जुन पैसा गुणस्तरीय काममा खर्च हुनुपर्ने हो, त्यसमा यी सबैको हिस्सेदारी हुन्छ। उपभोक्ता अर्थात् जनता त राम्रो–नराम्रो जे हुनु छ छिटो होस् भन्ने चाहन्छ, यसका लागि दबाब सिर्जना गर्छ र प्रविधिको अपरिपक्व व्यवस्थापनले गर्दा कामको गुणस्तरमा –हास आउँछ।
लोभ मानिसमा, खासगरी माथिल्लो पदमा बसेकाहरूमा, यति बिघ्न व्याप्त छ कि आफ्नो लाभका लागि देशको गौरवको कामलाई पनि जीवनभर सम्पन्न नहुनेगरी कुनै न कुनै भडखालो पारिरहन्छ। मेलम्ची यसको उदाहरण हो। चीनमा सरकारले एउटा सम्पूर्ण नगर ६ महीनामा तयार पारिदिन्छ, हामीकहाँ जाबो मेलम्ची पूरा हुन बीस वर्षभन्दा बढी समय लाग्छ, विचार, योजना, डिपिआर आदिको समयबाहेक। पहाडमा फल्ने फलफूलकै कुरा गरौं। केही सय किलोमिटर परको जोमसोम–मनाङ क्षेत्र होस् वा पश्चिमका पहाड, त्यहाँ फल्ने स्याउले बजार नपाउँदा किसान बाध्य भएर बोट मास्छन्। नेपाली उपभोक्ता भने हजारौं–हजार किलोमिटर टाढा रहेको कश्मीर र चीनको स्याउ खान्छन्। किनभने पूर्व–पश्चिम राजमार्ग बनाउने, पूर्व–पश्चिम रेल चलाउने, मध्य पहाडी लोकमार्ग बनाउने ठूलो दिमाग भएका राजनीतिज्ञ यस्ता खेतीले बजार पाओस् भनेर केही सय किलोमिटर बाटो बनाउन सक्दैनन्। पहाडी लोकमार्ग बनाउँदा भोट–बैंक र मेलम्ची निर्माण पर धकेल्दै गर्दा नोट–बैंक भरिलो हुन्छ। पहाडमा बाटो खनेर फाइदा किसानलाई हुन्छ। अर्काका लागि किन मरिहत्ते गर्ने ? फल खानु नेपाली राजनीतिज्ञहरूका लागि कुन ठूलो कुरा हो, यी त रुघाखोकीको उपचार गराउन थाइल्यान्ड र अमेरिका पुग्छन्।
देश विकास गर्न विभिन्न निर्माण, आयोजना, योजनाहरूको विचार पहिले फुर्नुपर्छ। त्यसका लागि निस्वार्थ रूपले कार्ययोजना तयार पार्नुपर्छ, त्यसको कार्यान्वयनमा आइपर्ने बाधा–व्यवधानको पहिले नै आकलन गर्नुपर्छ। कैयौं पुलहरू निर्माण हुँदाहुँदै धराशायी भएका छन्। कैयौं पुल वर्षौं नबन्दा मानिसहरू खोलामा बगेका छन्। देशका शक्तिशाली पाखुरा विदेशिएका छन्। जनशक्तिको अभावमा मात्रै थुप्रै आयोजनाहरू समयमा पूरा हुन सकेका छैनन्। देशलाई कृषिप्रधान भनिन्छ, तर सबैभन्दा उपेक्षित कृषक र उनका कर्म बनेका छन्। अब देशमा जग्गा बाँझो बनेर प्लटिङ हुन थालेको छ। बनाउने भित्री चाहना छैन, बनाउन चाहेको देखावा गर्नुछ भने यस्तै हुन्छ।