हुलाकी सडक बनेसँगै बिग्रन शुरू

0

ओमप्रकाश चौधरी, सेढवा, ६ भदौ/

तराईको जीवनरेखा मानिएको हुलाकी सडक निर्माण कार्य गुणस्तरहीन भइरहेको स्थानीयले आरोप लगाएका छन् ।

वीरगंजको पावरहाउस चोकदेखि जीराभवानी गाउँपालिका–१ को चमरीटोलसम्म ३० किलोमिटर सडकको निर्माण कार्य पप्पु कन्स्ट्रक्शनले गर्दैछ भने चमरीटोलदेखि ठोरीको चौतारासम्मको ३० किलोमिटर सडक बाँनिया जेभी कन्स्ट्रक्शनले निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । तर सडक निर्माण कार्य गुणस्तरहीन भएको कारण अहिले छोटो समयमा नै बिग्रन थालेको स्थानीयले गुनासो गरेका छन् ।

जीराभवानी गापा–२ सेढवा निवासी जीतबहादुर पासवानले पप्पु कन्स्ट्रक्शनले गरेको कालोपत्रे सडकमा खाल्डाखुल्डी पर्न थालेको बताए । उनले कतिपय स्थानको कालोपत्रे सडकमा गिट्टी उप्किएको देख्न पाइने बताए । उनले कमसल कार्य गरिएकाले निर्माण भएको केही महीनामा नै बिग्रन शुरू भएको आरोप लगाए ।

पासवानले निर्माण कार्य अन्तिम चरणमा रहेको सडकका दर्जनौं स्थानमा चार इन्चसम्मको खाल्डो तथा कैयौं स्थानमा सडक भासिएको देखाएका छन् ।

पप्पुले निर्माण गरिरहेको सडकखण्डमा तीनवटा कल्भर्टको निर्माण कार्य सम्पन्न भएको छ तर कालोपत्र नगर्दा अहिले वक्र्षायाममा सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको स्थानीयले बताए ।

ठोरी गापा–५ सुवर्णपुर निवासी विमल प्रधानले सडक निर्माण कार्यमा सरकारले तोकेको मापदण्ड पूरा नगरी सम्पन्न गरिएकाले यस प्रकारका समस्या आइपरेको र यसको प्राविधिक चेकजाँच हुनुपर्ने बताए । उनले चमरीटोलदेखि ठोरीसम्मको सडक कालोपत्रे भएको केही महीनामैं ठोरी गापा–४ को तटबन्ध भत्केको र दर्जनौं स्थानमा सडक भासिएको बताए ।

ठेकेदार कम्पनीले गरेको कामलाई स्थानीय सरकारले कुनै वास्ता नगरेको कारण यस्तो समस्या आएको प्रधानले आरोप लगाए । बाढीले भत्केको तटबन्धलाई ठोरी गापाले मर्मत गरी सडकलाई जोगाइरहेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here