बलियाहरूको नालीबेली

0
78

कुमार रुपाखेती

बा¥ह छोरा ते¥ह नाति बूढाको धोक्रो काँधमाथि भनेझैं विश्वासको १६५ मत प्राप्त गरेका देउवा अहिले प्रधानमन्त्रीसहित अनगिन्ती मन्त्रालयहरूको भार बोक्न विवश र लाचार छन् । कुनै बेला आफ्नो कुर्सी जोगाउन यिनै देउवाले नेपालकै इतिहासमा भीमकाल र जम्बो मन्त्रिमण्डल निर्माण गरेका थिए । माधव नेपालले अर्को पार्टी दर्ता गर्ने भएका हुनाले मन्त्रिमण्डल परिवार नियोजनको शिकार बनेको थियो ।

नेपाल नेकपा एमाले समाजवादी पार्टी गठन गरिसक्दा पनि मन्त्रिमण्डल विस्तार भएको छैन । सानो परिवार सुखी परिवार मानिए तापनि अचेल काङ्ग्रेस, माओवादी, माधव नेपाल समूह र उपेन्द्र गुट सगोलमैं बस्न बाध्य देखिन्छन् । सगोत्री बनेका यिनीहरूको आचरण प्रारम्भमा नै काँचो धागोझैं कच्चा देखिन थालेकोले यिनको भविष्यसमेत ओलीझैं आलोकाँचो साबित हुने देखिन्छ ।

टुट, फुट, गुट, उपगुटका नेतृत्वकर्ता माधव, प्रचण्ड, उपेन्द्रहरूको लामो कसरतबाट वर्तमान सरकार अस्तित्वमा आएको संसारलाई थाहा छ । त्यसैले यो सरकार जनमुखीभन्दा अदालतमुखी हुने सम्भावनासमेत छ । २०७४ को आमनिर्वाचनमा मतदाताहरूले काङ्ग्रेसलाई प्रतिपक्षी होइन, कमजोर प्रतिपक्षी करार गरेको थियो । ‘भागते भूतके लङ्गोटी काफी’ पारामा देउवाले सत्ता पाएका हुन् ।

अदालतले दूधको दूध पानीको पानी छुट्याउँदै एमाले र माओवादीलाई ब्यूँताइदिएपछि प्रचण्डका थुप्रै भरपर्दा लाखापाखा लागेपछि सेनाविहीन सेनापति बनेका प्रचण्डसमेत अचेल आफ्नो भविष्य अँध्यारो देखेर अहिले सरकारमा मात्र होइन भविष्यमा हुने निर्वाचनमा समेत यसरी नै गोलबन्द भएर जानुपर्ने राग अलाप्न थालेका छन् । २०७४ को संसदीय निर्वाचनमा समेत आफ्नो गिर्दो साख बचाउन प्रचण्डले ओलीको दामन थामेका थिए । पार्टी नै फुटाइदिए । उता माधवको दुःख–दर्द भरिएको कहानी सबैलाई थाहै छ ।

ओलीले मेलमिलापका सबै ढोका बन्द गरिदिएको भन्दै अलापविलाप गर्ने अनि देउवा र प्रचण्डको शरणमा पर्ने, नयाँ पार्टी खोल्न हिम्मत नगर्ने, न बकुला चाल न हाँसको चाल देखाएर सबैलाई अन्योलग्रस्त पार्ने रणनीतिमा लागेका थिए । जम्माजम्मी २३ सांसद बोकेर उनले तीर मार्ने हो ? दैव नै जानून् । अलिबाबाका त चालीस चोर थिए, माधवको जम्मा तेइस थान । सत्ताको अर्को सदाबहार दावेदारको नाम उपेन्द्र हो ।

ओलीले स्वास्थ्यमन्त्रीबाट निकालेपछि मधेसमा समेत विश्वसनीयता खस्काएका यिनी अहिले महन्थ ठाकुरबाट दलबदल गरी आएका दलबदलुहरूको सरदार बनेका छन् । उपेन्द्रझैं यिनको छातामुनि छिरेका दलबदलुहरूसमेत मन्त्री पदको ¥याल चुहाइरहेका देखिन्छन् । मधेसमा सधैं अनेकतामा एकताको जप गर्ने यिनीहरू पदकै लागि मरिमेट्ने भएकाले मधेसवादीहरूको एकता सधैं बालुवाको महलझैं ढल्ने गरेको इतिहास नै छ ।

तराईमा अहिले महन्थ र उपेन्द्रमध्ये को मधेसवादी र को सर्वसत्तावादी भनी छुट्याउन तराईवासीलाई हम्मेहम्मे नै परेको छ । भ्रम छर्न र दूधको साक्षी बिरालो बन्न मधेसकेन्द्रित दलहरू खप्पीस मानिन्छन् । मधेसवादीको घरझगडाले प्रदेश नं २ मा काङ्ग्रेसको अवस्था भरभराउँदो बन्दै गएको छ ।

जहाँसम्म सरकारको नेतृत्व गर्ने काङ्ग्रेसको कुरा छ यो निर्विवाद सत्य हो कि आफ्नो स्थापनाकालदेखि नै नेपाली काङ्ग्रेसमा विवाद र मनमुटावको बीजारोपण भएको थियो र अहिले त झन् विकराल छ । देउवा नेपाली काङ्गे्रसका कमजोर सभापति मानिन्छन् । अविवाहित कृष्णप्रसाद भट्टराई, सुशील कोइराला र पत्नीवियोगमा रहेका गिरिजाप्रसादको सभापतित्वकालमा काङ्ग्रेसमा परिवारवाद हावी थिएन र विवाद मत्थर गर्ने क्षमतासमेत तिनमा थियो ।

देउवालाई त रामचन्द्र पौडेलले हर्रो हगाएका छन् । देउवा नेतृत्वको सरकार पूर्ण अस्तित्वमा आउनुअघि विवादको भुमरीमा फसेको छ । उनले जबरजस्ती नियुक्ति गरेका काङ्ग्रेसी मन्त्रीहरू विवादमा छन् । काङ्ग्रेसमा देउवाको अवस्था त एउटा हिन्दी उखानसँग मेल खान्छ । उखान हो– बाबा नचैलख पुतरिया, सो हे भेल मतरिया ।

आफ्नो ४९ वटै सांसदले मन्त्री मागेको भन्दै प्रचण्ड तनावमा छन् रे । ओलीले वनवासमा पठाएकाले माधव इन्तु न चिन्तु छन् रे । महन्थको खेमा त्यागेर दलबदल गर्दै आफ्नो पछि लाग्नेहरूले मन्त्री माग्नाले उपेन्द्र परेशान छन् रे । नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेलले आफ्नो खेमाकालाई मन्त्री नबनाए ताण्डव नृत्य गर्ने मूडमा छन् रे । रामचन्द्र पौडेल १४औं महाधिवेशनमा सभापति देउवालाई टक्कर दिने एकमात्र उम्मेदवार मानिन्छन् ।

बलिया भएकाहरूको यस्तो हबिगत देख्दा त मलाई अचेल यिनको प्रदर्शन नाम बडे और दर्शन छोटेजस्तै लाग्न थालेको छ । सबै दल ओरालो लागे पनि आफू माथि उस्किन खोज्ने प्रवृत्तिले गर्दा चिराचिरा हुने र धमिरा लाग्ने गरेको पाइन्छ । कम्युनिस्ट मात्र होइन काङ्ग्रेससमेतले विगतमा एकलौटी सरकार चलाउन असफल भएको रेकर्ड छ ।

सत्तामा जान मतदाताहरूले अयोग्य घोक्षित गरिसकेकाहरूको जत्था सत्तामा उक्लिन उत्साहित रहे पनि विविध कारणले गर्दा मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । मन्त्रिमण्डलले येनकेन प्रकारेण पूर्णता पाए पनि काम गर्न सक्ने वातावरण देखिंदैन । अघोक्षित खुट्टा तानातान चालू छ । कमजोरहरूको मिलेमतोमा बन्ने यो सरकार ‘चोर–चोर मौसेरा भाइ’बाहेक केही होइन ।

अब नेपालमा मै हुँ भन्दै नाक फुलाउने क्षमता कुनै राजनीतिक दलमा छैन । अनुशासित भनिने कम्युनिस्ट पार्टीहरूको चचाचु छताछुल्ल भइसकेको छ । सत्ता नभई बाँच्न नसक्ने काङ्ग्रेस र सत्ताको लागि जतासुकै लम्पसार पर्ने उपेन्द्रहरूलाई दिगो भरोसा गर्न सकिंदैन । त्यसैले त म भन्छु अदाललते लगनगाँठो जुराइदिएकाहरूको यो मिलाप चिरस्थायी हुन सक्दैन। पार्टी हाँक्न नसक्ने हुतिहाराहरूले मुलुकलाई सही दिशा दिन सक्दैनन् । बलिया भनाउँदाहरूको नालीबेली खोतल्दा घिन लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here