राधेश्याम पटेल, परवानीपुर, ५ भदौ/

रौतहटका पत्रकार महम्मद मोजिबुल्लालाई प्रहरीले लागूऔक्षध मुद्दामा फसाएको नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द झाले आरोप लगाएका छन् ।

काठमाडौंबाट प्रकाशित जनप्रहार अनलाइनको समाचार रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मोजिबुल्लाले सामाजिक सञ्जालमा शेयर गरेको प्रतिशोधमा लागूऔक्षध मुद्दामा प्रहरीले फसाएको अध्यक्ष झाको आरोप छ ।

उनले पत्रकार मोजिबुल्लालाई होटल साहुले गत आइतवार खाना खान बोलाएको र प्रहरीका घुमुवाहरूले उनको मोटरसाइकलमा लागूऔक्षधको झोला झुन्ड्याएको भिडियो फुटेज शुक्रवार सार्वजनिक भएपछि पत्रकार मोजिबुल्लालाई फसाएको दाबी गरेका छन् । पत्रकार मोजिबुल्लालाई प्रहरीले क्षड्यन्त्र गरी फसाएको विरुद्धमा अहिले रौतहटका पत्रकारहरू प्रहरीविरुद्ध सामाजिक सञ्चाजमार्फत भिडेका छन् ।

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले पत्रकार मोजिबुल्लालाई रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रौतहट प्रहरीले पत्रकार मोजिबुल्लाबाट १०५ थान नाइट्रोभेट बरामद भएको भन्दै पक्राउ गरेको थियो ।

सो नाइट्राभेट प्रहरी घुमुवा उदय यादव र मनोज साहसँग होटलमा गएका दुईजना युवकले मोजिबुल्लाको मोटरसाइकलमा राखेको भिडियो फुटेजमा देखिन्छ ।

साँझ ७ बजे होटल ग्रीन सिग्नलअगाडि रोकिराखेको मोजिबुल्लाको मोटरसाइकलमा सो लागूऔक्षध राखिएको र दुईजना युवकसँगै रहेका घुमुवा प्रहरी यादव र साहको पहिचान खुलेको कारण प्रहरी क्षड्यन्त्र भएको रौतहटका पत्रकारहरूको दाबी छ ।

अनुसन्धानपछि सत्य बाहिरिन्छ –प्रनाउ

घटना सम्बन्धमा जिप्रका रौतहटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले घटनाको सत्यतथ्य केही दिनभित्र बाहिरिने बताएका छन् ।

उनले पत्रकारको मोटरसाइकलमा कसले लागूऔक्षध राख्यो, घुमुवाहरूको संलग्नता छ, छैन र लागूऔक्षध राख्ने व्यक्तिको पहिचानसमेत खुलेको सो सम्बन्धमा अनुसन्धान भइरहेको र अनुसन्धानपूर्व प्रहरी सङ्गठनलाई बदनाम गर्न नहुने उनको भनाइ छ ।

मोटरसाइकलमा लागूऔक्षधको झोला राखेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान गरि रहेको जनाएको छ ।

प्रहरीले सो आरोपमा धीरज यादव र जितेश यादवलाई पक्राउ गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here