सिड्नी, ५ भदौ/एएनआई
अस्ट्रेलियामा लकडाउनविरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौंलाई पक्राउ गरिएको छ ।
देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको शहर सिड्नीबाट प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
न्यू साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासका क्षेत्रमा आगामी सेप्टेम्बर महीनासम्म लकडाउन लागू गर्ने निर्णय गरिसकेको छ ।
महामारी नियन्त्रणमा आइनसकेकोले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको अधिकारीहरूले बताए । यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ । लकडाउन यही अगस्त २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महीना लम्बिने भएको छ ।
“हामीले खोप लगाइसकेका छौं, अब सधैं थुनिएर बस्न सक्दैनौं, हामी स्वतन्त्रता चाहन्छौं,” प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीले भने ।
प्रदर्शनकारीले लकडाउनको नियम उल्लङ्घन गरेको भन्दै प्रहरीले उनीहरूलाई प्रदर्शनमा रोक लगाएको थियो । प्रहरीको आदेश अस्वीकार गर्नेहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्रदर्शनकारी र प्रहरीबीचमा झडप हुँदा कम्तीमा सातजना अधिकारी घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी प्रदर्शनमा उभिएका २०० भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
कतिपय क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म कफ्र्यू पनि लागू गरिएको छ । तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीको अनुमति र समन्वयमा हिंड्डुल गर्न पाइने व्यवस्था गरिएको छ । रासस