पागलको पनि पापी पेट हुन्छ

0
82
  • सञ्जय मित्र

पापाको लघुरूप पापी हुन्छ ? कि पापाको स्त्रीलिङ्गी पापी हुन्छ ?
पागलजस्तो देखिने पातलो पुरुक्षले प्रश्न ग¥यो । कसलाई गरेको हो, त्यो चाहिं थाहा भएन ? सुन्नेहरू नसुनेझैं गर्छन्, मैले पनि तेसै गरें । किन सुन्नुप¥यो । अलिक अगाडि बढ्दै गर्दा कानमा दुर्ई थान प्रश्न ठोकिए ।

पानाकी पत्नी पानी हो ? पानीको पुस्तामा पाना पर्छ कि पर्दैन ?
म पहेंलो पल्लो घरसम्म पुग्दा पनि पागलको प्रश्न मेरो कानमा गुन्जिइरहेको थियो । पहिले त पागल हो होइन भन्नेमा नै म द्विविधामा किन परें भने पागलको प्रश्नको प्रत्युत्तर पछिसम्म पनि मेरो दिमागमा आइरहेको थिएन । काम सिध्याएर साँझतिर घर फर्किंदा पागल भनिएको मानिस पहिलेभन्दा पूर्वतिर के के फलाकिरहेको थियो ।

कसैले पटना भन्न नसकेर पतना भन्यो र सोही सुनेर पत्नाबाट पत्नी बन्यो । पत्नीको पुलिङ्ग पत्ना हुनुपर्ने हो । होइन भने कसैले प्रस्ट पारोस् ।
पटक–पटक यस्तै प्रश्न सुनेपछि यसपटक मैले आफूलाई रोकिनँ । नजीक गएँ र भनें– प्रणाम ।
प्यारो बोलीमा प्रणाम नसुनेको धेरै भइसक्या थ्यो क्यारे । मतिर हेर्दै उसले हेरेको हे¥यै ग¥यो । अनि अलिक गम्भीर भएजस्तो गरेर बोल्यो– पालोकी श्रीमती पाली हो ? पल्लोबाट पल्ली कसरी बन्यो ? पहरामा बस्ने मात्र पहरी हुन्छ ? प्रहर र प्रहरी के पुलिङ्ग–स्त्रीलिङ्ग हो ?

उसका प्रश्नहरू मलाई पच्छ कि पाचक खानुपर्छ भन्ने जस्तो भएको थियो । म त ट्वाँ परेर एकोहोरो हेरिरहेको थिएँ । भागूँ कि बसूँ ? अलमलमैं थिएँ, त्यसै बेला उसले थप्यो–
पचास र पचासीको लिङ्ग छुट्याऊ । पुराले पाकेको पुरी कसरी पचाउँछ ?
असह्य भएर मैले अलिक डराएरै सोधें– पुस्तक पोथी पढ्नेलाई प्रश्न गर्दा प्रस्ट पार्लान् कि ?
उसले बोल्यो– प्रश्न पस्केर त्यही पत्ता लगाउँँदैछु ।

म– अनि किन यस्ता प्रश्नहरू गर्नुपरेको छ त ?
ऊ– पापी पेटको प्रश्न छ । पागलको पनि पापी पेट हुन्छ ।
बल्ल मलाई भोक लागेको अनुभूति भयो । पाँच रुपियाँका पाँचवटा पुराना नोट उसको हातमा थमाएर घरतिरको पुरानो बाटो लागें । घरमा आएपछि पत्नीजीलाई सोही कुरा अवगत गराएँ । पत्नीजीलाई पूरापुर पर्याप्त ज्ञान प्राप्त छ । पसल पुगेर पातलो ललिपप ल्याई मेरो हातमा थमाउँदै जानकारी गराइन्– तीन दाजुभाइमा ऊ दुर्ई नम्बर हो । दुवैतिरबाट माया पाएको । एक नम्बर सरकारी हेडमास्टर र तीन नम्बर चाहिं प्राइभेट हेडमास्टर ।

दुई नम्बर पहिलेदेखि पढाइमा तेज । पहिले सरकारी हेडमास्टरलाई स्कूलमा पढाएर सहयोग ग¥यो अनि तीन नम्बर हेडमास्टरको स्कूलमा विद्यार्थी घट्यो भन्ने सुनेर सरकारीबाट प्राइभेट स्कूलमा सरुवा गरायो । पहिले खाइपाइ आएको तलब र सुविधा तथा काममा सन्तुलन नमिल्दा मस्तिष्कमा पनि असन्तुलन भएको रे । हरेक दिन फरक–फरक अक्षरका बढी शब्द उच्चारण गर्छन् रे ।

हो आज पबाट बढी शब्दको उच्चारण गरेको सुनेको थिएँ, मैले भनें ।
अझ माया उम्रेर आयो । एक कप चिया खाएर उसको बोली सुन्नतिर लागें । दिनभर कुनै एक चोकमा त्यसरी बसेर अबेर साँझ घर जान्छ रे । कहिले भोक खाएर सुत्छ, कहिले गाली खाएर सुत्छ । कहिले धेरै खाएर पेट दुख्छ र कहिले खानै नपाएर पेट दुख्छ रे उसको ।

लाखको पति लखपति, राष्ट्रको पति राष्ट्रपति, पशुको पति पशुपति, समको पति सम्पत्ति सबै थाहा छ तर आफ्नै घरमा परदेशको परदेशी बनेर पर्दापछाडि पुग्नुपरेको छ । परिवर्तनशील परिस्थितिले परिसंवाद गराइ परिवारसित पुनर्मिलन पुनः गराउला कि ? ऊ बर्बराउँदैथ्यो ।
अझ सुनियो– अनि प्यारो परिवारमा पत्नी, पुत्र, पुत्रीको पवित्र प्रेम प्राप्त गर्छु । परिवारमा पाइने प्रेम परम पवित्र हुन्छ ।
अलिक सुस्तिएर बोल्यो– मेरो पवित्र प्रेम पागलपन प्रमाणित हुँदैछ … ।

पद, पैसा, प्रशंसा र प्रतिष्ठाको पछाडि नकुदेर दाइप्रेम र भाइप्रेममा लागें । मलाई पागल बनाएर मेरी प्रिय पत्नीलाई पुल्पुल्याएर पालेका छन् । पत्नी प्यारो र म पत्रु पतित प्राणी परिभाक्षित छु ।
पवित्र प्रेमले परोपकारमा पर्दा पलपल परजीवी बनेको छु । पेट पाल्न पागल बनेर पाँच रुपियाँ पाउन हात पसार्नुपर्छ । पाँच रुपियाँको लागि पटक–पटक पागलको परीक्षा पास गर्नुपर्छ । परिस्थितिलाई पक्षमा परिणत हुन प्रचण्ड प्रलय आउनुपर्दैन । म त त्यही दिनको प्रतीक्षामा छु, ऊ बोल्दै थियो । मेरो मोबाइलको घण्टी बज्यो ।

घरबाटै फोन थियो । उठाऊँ कि नउठाऊँ भन्ने दोधारमैं रिसिभ गरें । उताबाट आशीर्वचन हुन्छ– पागलको पछिपछि पुग्ने पनि पागल नै हुन्छ । कुन जुनीको पापले तेरोजस्तो पति प्राप्त भएछ पागलको पछि कुद्ने ? छिटो घर पधार तेरो पागलपनको प्रेत उतार्छु पूज्य पति, परलोकमा पनि पुण्य नहोओस् बरु ।
म त धम्की र प्रेमको दोधारमा परेर घर जाऊँ कि म पनि पागल बनूँ जस्तो भयो । ठीकै छ, पत्नीको कामै हो कराउने । जीवनभर त सुनिरहन पाइन्छ बरु यो म्यादी पागलको कुरो सुन्न छुट्यो भने जीवनमा के के गुमाएँ भन्ने थकथक लागिरहन सक्छ ।

पत्ताबाट पत्ती बन्छ र पत्तीबाट पत्नी किन बन्दैन ? यो पत्नी पनि गज्जबको पाएको हुँ । पहिले प्रेमी–प्रेमिकाजस्तो प्रेमिल संवाद पुष्पवृष्टि गर्ने परीजस्ती प्यारीको पारा देखेर पनि पासो पसाइ परमधाम पुगूँ जस्तो लाग्छ ।
पागलको कुरो अहिले मलाई बेग्लै दर्शन लाग्यो । लाग्यो उसले मेरो मनको कुरो बोलेको छ । बाहिर भन्न नसकेर मात्रै हो नत्र मलाई पनि यस्तै भएको छ । आजको कुरो सुनेर त झन् म अन्तर्मनमा नै घाइते भएको छु ।

ऊ बडो गम्भीर भएर बोल्छ– पहुँच र पावर भएको भए म पागल होइन, दार्शनिक कहलाउँथे । रगत पगालेर पसिना बनाइ परिश्रमले आर्जन गरेको बुद्धिधन कसैले पत्याउने नभएपछि पश्चात्तापमा रुमलिनुपरेको छ । पागलपन मेरो अभिनय हो ।
मेरो मोबाइल स्क्रीनमा मैडमको मुस्कुराइरहेको अनुहार देखा परेको छ । आज मलाई परलोकमा रहेका पितापुर्खासमेतलाई नछोड्ने हो कि भन्ने लागेको छ । पत्नीलाई फकाउन धेरै गा¥हो छ । म पनिर पसलतिर लम्कन्छु । झूटबोलकयन्त्र (मोबाइल)मा भन्छु– पापड र पनिर लिइसकेको छु, पवनगतिमा पाल्दैछु, नअत्याउनुस् न पत्नीजी ।

पहिले घर त पाल्नुस् अनि पागलपत्नीसित परिचित गराउँछु– पत्नीको बोलीले मलाई झस्काउँछ। मलाई लाग्छ, त्यो पागलको पागलपन्थी नै राम्रो छ ।
म त आफ्नै रहरले कहिलेकाहीं कहर बर्साउन लगाउँछु । यस्तो आफत तपाईंलाई कहिल्यै परेको छ । म अझै पनि त्यो प्रचारित पागलको बारेमा सोच्दैछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here