जगरनाथपुर गापाको पशुबजार सञ्चालन

0

प्रस, सेढवा, ३ भदौ/

जगरनाथपुर गाउँपालिकाले साउनको पहिलो सातादेखि जिल्लामैं पहिलो पशु बजार सञ्चालनमा ल्याएपछि यहाँ पशुपालकहरू खुशी भएका छन् ।

जगरनाथपुर गापाले वडा नं ४ बडगोटाँडीमा सञ्चालन गरेको पशु बजार अहिले सातामा दुई दिन आइतवार र बिहीवार लाग्ने गरेको छ । जिल्लामैं पहिलो पशु बजार सञ्चालनमा आउँदा अहिले बजारका दिन दुई सयभन्दा बढी भैंसी, राँगाको खरीद–बिक्री भइरहेको बजारका सदस्य जफिर अहमदले बताए । उनले आफ्नो पशुलाई तोकेको मूल्यमा आफ्नै घरनजीकको बजारमा बिक्री गर्न पाउँदा सुविधा भएको बताए ।

यसअघि, पर्सा जिल्लाका पशुपालकहरूले राँगा, भैंसी बिक्रीको लागि बाराको परवानीपुर र जीतपुर बजार लग्ने गरेका थिए । त्यहाँ सोमवार र शुक्रवार पशु बजार लाग्ने गरेको छ ।

जगरनाथपुर गापाले पशु बजार सञ्चालनमा ल्याएपछि आसपासका जीराभवानी, पटेर्वासुगौली, ठोरी, धोबिनी र पोखरियासम्मका पशुपालकहरूलाई सुविधा भएको छ ।

जगरनाथपुर गापाका अध्यक्ष जालीम मियाँले पशु बजार सञ्चालनमा आएपछि पोखरा, चितवन, काठमाडौं, तनहुँलगायतका क्षेत्रमा राँगा, भैंसी निर्यात हुने गरेको बताए । उनले पशु बजार सञ्चालन भएपछि बारा जिल्लाको पशु बजार धाउनुपर्ने समस्याबाट स्थानीय किसानले मुक्ति पाएको बताए । लामो दूरी पैदल जानुपर्ने र बाटोमा प्रहरीले दुःख दिने समस्याबाट पशु किसान मुक्त भएको उनले बताए ।

बाराको पशु बजारमा दुःख गरेर लगेको पशुको उचित मूल्य नपाउने र फिर्ता ल्याउन पनि समस्या हुने भएकोले पशु किसानले सस्तोमा पशु बिक्री गरेर फर्कनुपर्ने बाध्यकारी अवस्था पनि हटेको उनले दाबी गरे ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here