दुबई, ३ भदौ/सिन्ह्वा
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताएका छन् ।
उनी गत आइतवार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए । उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेको बताइएको छ ।
उनलाई बुधवार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उनको साथमा उनको परिवार पनि रहेका छन् ।
हिंस्रकरूपमा तालिबानीले विभिन्न शहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उनले गएको आइतवार देश छोडेका थिए । देश छोडेपछि पहिलोपटक आफ्नो भनाइ राख्दै उनले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिंडेको भनाइ सार्वजनिक गरेका हुन् ।
उनले बुधवार आफ्नो राष्ट्रिय भाक्षा पास्तोमा सम्बोधन गर्दै सो धारणा राखेका हुन् । त्यस क्रममा उनले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाऊ गरेका छन् ।
उनलाई आफ्नै मन्त्रिपरिक्षद्का कतिपय मन्त्रीले देश नै अप्ठ्यारो स्थितिमा परेको अवस्थामा आफूहरू र देशलाई नै छोडेर घानी भागेको भनेर आलोचना गरेका थिए ।
गएको आइतवार यता काबुललाई तालिबानीले कब्जामा लिएका थिए । उनीहरूले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् ।
काबुलबाट प्राप्त समाचार अनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ । सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।
काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम नै रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिबानका लडाकू तथा अन्य सदस्यले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन् । तालिबानले नै अहिले काबुलको सुरक्षा गरिरहेको बताइएको छ । रासस