अस्ट्राजेनिका खोपको पहिलो मात्रा दिइँदै

0

काठमाडौं, २ भदौ/रासस

काठमाडौं स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको अस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले अस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई खोप लगाउन थालिएको जानकारी दिए । 

जापान र भुटानबाट आएको अस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको बचेपछि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई पहिलो मात्रा खोप दिन थालिएको हो । भुटानबाट दुर्ई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा अस्ट्राजेनिका खोप प्राप्त भएको थियो । पैसट्ठी वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’को पहिलो मात्रा लगाएकालाई भुटान र जापानबाट प्राप्त अस्ट्राजेनिका खोप प्रदान गरिएको थियो । 

स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाप्रमुख डा झलक शर्मा गौतमले सबै ज्येष्ठ नागरिकले दोस्रो मात्राका रूपमा अस्ट्राजेनिका नलगाएको हुनाले बचेको हुन सक्ने बताइन् । काठमाडौं जिल्लाका सबै स्थानीय तहमा खोप लगाउन थालिएको छ । कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाका पाँच खोप केन्द्र तथा कीर्तिपुर, तारेश्वर, नागार्जुन, बूढानीलकण्ठ, कागेश्वरी–मनहरा, टोखा र गोकर्णेश्वर नगरपालिकामा एक/एक खोप केन्द्र तोकिएको छ ।

महानगरपालिकामा राधास्वामी आइसोलेशन सेन्टर, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताललाई खोप केन्द्र तोकिएको छ । कार्यालयले महानगरपालिकामा आवश्यकता अनुसार खोप केन्द्र थप्ने बताएको छ । अहिलेसम्म नेपालमा ४७ लाख ६४ हजार आठ सय ६५ व्यक्तिले पहिलो मात्रा र ३५ लाख ८६ हजार ६७३ ले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here