बोरिङ खन्दा मिथेन ग्याँस मिसिएको पानीको फोहोरा निस्कियो

0

काठमाडौं, २ भदौ/रासस

पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा बुधवार एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करीब ४० फिट अग्लो फोहोरा काठमाडौं कपन शिवमन्दिरनजीक निरन्तर छ ।

भुलुक–भुलुक गर्दै चार तले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन्। फोहोरा जारी रहेपछि उनीहरूले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।

सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्याँस मिसिएको जानकारी दिए ।

“काठमाडौं उपत्यकाको जमीनमुनि मिथेन ग्याँस रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्याँस निस्किएको थियो,” श्रेष्ठले भने । 

त्रसित स्थानीयवासीको प्रतिक्रियामा उनले ग्याँसलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्याँस, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताए ।

कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आकलन गर्न नसकिने बताए ।  

घरनजीकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमीन नै भासिने पो हो कि भने डर लागेको बताए । “शुरूमा लेदो निस्किए पनि अहिले ग्याँस गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ,” उनले भने । करीब १५० फिट गहिरो खन्दा यस्तो घटना भएको उनको भनाइ छ । 

फोहोराका कारण नजीकैको घर हिलाम्मे भएको छ । अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि यतिखेर प्रहरीले भीडभाड नगर्न माइकिङ गरिरहेको छ । कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाह अनुसार घटनाको दुर्ई सय मिटरवरपर घरमा ग्याँस, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिए । साथै कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उनले जानकारी दिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here