सप्तरीमा महन्थ पक्षले खुशियाली मनायो

0

प्रस, सप्तरी, २ भदौ/

महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै ठाकुर पक्षधरले सप्तरीमा मैनबत्ती बालेर खुशियाली मनाएका छन् ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि नयाँ दलको पर्खाइमा बसेका   ठाकुर पक्षका नेता कार्यकर्ताहरू नयाँ दल पाउने भएकाले खुशी बनेका हुन् । महन्थ ठाकुरको नेतृत्वमा बुधवार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन परेको छ । सप्तरीको राजविराजलगायत मुख्य शहर र गाउँहरूमा पनि ठाकुर पक्षले मैनबत्ती बालेर खुशियाली मनाएका छन् भने केही स्थानमा उनीहरूले जुलुससमेत प्रदर्शन गरेका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । यसअघि छुट्टै दल दर्ता गर्दा एकीकृत पार्टीमा रहँदा विभिन्न तहका चुनाव जितेका जनप्रतिनिधिहरूलाई समस्या भएको थियो ।

महन्थ पक्षमा लाग्न चाहने पालिका र प्रदेशका जनप्रतिनिधिहरू पद जाने डरले उपेन्द्र पक्षमा बस्न बाध्य थिए तर अब अध्यादेशले सहज बनाइदिएको सप्तरीका जनप्रतिनिधिहरूले बताएका छन् । 

मधेस आन्दोलनको मुद्दालाई महन्थ ठाकुर पक्षले बोकेको र मधेसी जनतामा उपेन्द्रभन्दा ठाकुरको प्रभाव तथा विश्वास बढी रहेकोले अब धेरैजना महन्थको पक्षमा खुलेर आउने उनीहरूको दाबी छ । जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा मैनबत्ती बालेर खुशियाली मनाउने क्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, युवा नेता विनोद यादव, शम्भु यादवसहितका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here