मन दुखाउने शैक्षिक परिदृश्यहरू

0
  • सञ्जय साह मित्र

अलिक पहिले पहाडको एउटा बजारमा सुनेको थिएँ– न्याय नपाए गोर्खा जानू भन्ने उखानजस्तै सर्टिफिकेट नपाए तराई जानू । व्यङ्ग्य होइन, जिज्ञासापूर्वक एक अग्रज मित्रले माथिको भनाइ राख्दै सोधेका थिए मलाई । पूरै त होइन तर आंशिक सत्यता रहेको मैले कुन अर्थमा भनेको थिएँ भने कतिपय शैक्षिक संस्थाले परीक्षामा लापरवाही गर्ने गरेकाले कतै कतै यस्तो अवस्था देखिएको हुन सक्छ । तराईमा नै सबैतिर यस्तो छैन । मित्रले अब पहाडतिर पनि शिक्षामा लापरवाही हुन थालेको गुनासो गरेका थिए ।

न्याय नपाए गोर्खा जानू भन्ने उखानलाई त इतिहास नै मान्नुपर्ने हुन्छ । यो उखान केवल उखानको रूपमा प्रचलित छ तर सर्टिफिकेट नपाए तराई जानू भन्ने कथनमा तराईको शिक्षा प्रणाली कमजोर रहेको स्पष्ट सन्देश लुकेको छ । तराईमा पढाइ अर्थात् शिक्षाको गुणस्तर कमजोर रहेको र सर्टिफिकेट सजिलै पाइने भन्ने अर्थ यसले दिइरहेको छ । तर के अवस्था यस्तै छ त ?

बितेको साउन महीनामा रौतहटको एउटा शैक्षिक संस्थाले विज्ञापन गरेर लेखापाल खोज्यो । संयोगले एक दर्जन निवेदन आयो । तोकिएको मितिमा परीक्षा भयो तर एकजनाले पनि लिखित परीक्षा उत्तीर्ण गर्न आवश्यक नम्बर ल्याउन सकेन ।

धेरैले यो कुरा फैलाए कि शिक्षा कस्तो कमजोर भइसक्यो ? लिखित परीक्षामा एकजना पनि पास गर्न नसक्ने शिक्षा भयो । अलिकति स्तरीय प्रश्नपत्र निर्माण गरेर पूर्णतया फेयर एक्जाम लिने हो भने अहिले पढेका विद्यार्थीहरूको हविगत यस्तै हुने एक किसिमले यथार्थपरक आरोप आउन थालेको छ । र, माथिको दृष्टान्त हेर्ने हो भने यो आरोप होइन यथार्थ लाग्न सक्छ तर सबै चाहिं यस्तै हुन् भन्ने होइन । सबै शिक्षालय वा सबै विद्यार्थी यस्तै हुन् भन्ने हुँदै होइन ।

हालै अर्को पनि एउटा भयावह परिदृश्य सामुन्ने आएको छ । हालै नर्सिङ तथा फार्मेसी अध्ययनका लागि लिइएको प्रवेश परीक्षाको नतीजा पनि यस्तै उदेकलाग्दो देखिएको छ । परीक्षामा उत्तीर्ण हुनको लागि सरकारले निर्धारण गरेको मापदण्ड अनुसार परीक्षा लिंदा सरकारले तोकेको कोटाभन्दा ज्यादै कम सङ्ख्यामा परीक्षार्थीहरू पास भएको देखिएको छ । हुन त सरकारले विभिन्न सातवटा विधामा परीक्षा लिएको थियो र एउटाबाहेक सबै छवटा कोटामा सरकारले निर्धारण गरेको कोटा अर्थात् आवश्यकताभन्दा निकै कम परीक्षार्थी उत्तीर्ण भएका छन्। एउटा उदाहरण यहाँ हेर्न सकिन्छ । सरकारले बिएस्सी नर्सिड्ढा लागि एक हजार दुई सय चालीस कोटा निर्धारण गरेको थियो । यस कोटाका लागि तीन हजार चार सय अठहत्तर परीक्षार्थीले परीक्षा दिएका थिए । जब रिजल्ट आयो तब केवल पाँच सय चारजना मात्र उत्तीर्ण भए । यसको अर्थ यो देखियो कि यसै अवस्थामा सात सय छत्तीस कोटा खाली जान्छ । जति सङ्ख्यामा उत्तीर्ण हुनुपर्ने हो, त्यसको आधा सङ्ख्यामा पनि परीक्षार्थी उत्तीर्ण नहुने अवस्था देखिएको छ । कम्तीमा यस नतीजाले यही देखाएको छ ।

आवश्यकताभन्दा धेरै बढीले आवेदन दिनु तथा परीक्षामा सहभागिता जनाउनुले यो स्पष्ट हुन्छ कि परीक्षा दिएको विषयमा अध्ययन गर्ने धेरैको चाहना वा सपना छ तर परीक्षाको नतीजामा आवश्यकताभन्दा कम उत्तीर्ण हुनुले दुई कुरालाई दर्शाएको छ । पहिलो यो कि जो पास भएका छन् तिनीहरूबीच पनि निकै ठूलो प्रतिस्पर्धा भएन र दोस्रो उत्तीर्ण हुन नसकेकाहरूले आवश्यक परिश्रम गरेनन् । सबै ठाउँमा यो कुरो सही नहोला । माथिको नतीजाले यो पनि स्पष्ट पारेको छ कि कुनै निश्चित ठाउँ वा भूगोलमा पढाइ कमजोर छ, शिक्षा खत्तम भयो, विद्यार्थीले सिक्न पाएनन् भन्ने होइन । यस किसिमको प्रकृति झन्डै सर्वत्र भइसकेको छ । वा, यस प्रवृत्तिले धेरै विस्तार प्राप्त गरिसकेको छ ।

यसको मूल कारण के होला ? विमर्श अत्यावश्यक देखिएको छ ।

गत वर्ष कक्षा बाह्रमा अधिकांश परीक्षार्थीले राम्रो नम्बर ल्याए । कक्षा एघारका साथै एसइईका परीक्षार्थीले पनि धेरै राम्रो नम्बर पाएको देखिएको थियो । सबैले राम्ररी बुझेका छन् कि अहिले पनि कक्षा एघारको परीक्षार्थीले धेरै राम्रो नम्बर पाउने छन् । केही दिन पहिले आएको एसइई परीक्षाको नतीजामा पनि परीक्षार्थीहरूले निकै राम्रो रिजल्ट पाएको सत्य हो । यसरी नम्बर बढी आउनु भनेको सामान्य अवस्थामा निकै राम्रो मान्नुपर्छ तर यो गत वर्ष कक्षा बाह्र उत्तीर्ण गरेकाहरूले नै यसपटक मेडिकलतर्फको परीक्षा दिएका हुन् । धेरैको विश्लेषण के रहेको छ भने विद्यार्थी धेरै नम्बर पाएर खुशी त भए तर प्रतिस्पर्धाको तयारी गर्न सकेनन् वा नम्बरको आधारमा आफूलाई जे बन्न योग्य ठानिरहेका थिए, त्यो बन्ने योग्यता नै नरहेकोले आफूलाई उच्च कोटिको ठान्न पुगेका मात्र हुन् ।

चालू आर्थिक वर्षको बजेट ल्याउँदा शिक्षकहरू असन्तुष्ट छन् । अन्य कर्मचारीको तुलनामा सुविधा कम भएको आन्दोलनकारी पक्षको भनाइ छ । घुमाउरो किसिमले राज्यले शिक्षक वा शिक्षा क्षेत्रको उचित सम्मान गर्न नसकेको आरोप रहेको छ तर शिक्षाको स्तर कमजोर हुनुमा यो कारण चाहिं होइन किनभने बजेट गत जेठमा आएर अहिले कार्यान्वयनमा आएको हो ।

शिक्षामा राज्यको ठूलो लगानी छ तर लगानी अनुरूप प्रतिफल नआएको गुनासो सबैतिरबाट आउने गरेको छ । यसको मूल कारण के होला ? यसको मूल कारणबारे सम्बद्ध पक्ष्Fले नजाने–बुझेको होइन । अझै पनि कतिपय यस्ता विद्यालय छन्, जहाँ कक्षा दशसम्म पढाइ त हुन्छ, तर माध्यमिक तहका एकजना शिक्षक छैनन् । शहरी क्षेत्रका विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात मिलेको होला, तर अधिकांश ग्रामीण क्षेत्रमा भने अभाव देखिन्छ ।

विद्यालय शिक्षालाई स्थानीय तहको जिम्मा छोडेपछि शिक्षा कमजोर बन्ने अनुमान पहिले नै गरिएको थियो । अहिले प्रतिस्पर्धाको क्षेत्रमा जसरी कमजोर देखिने र पढाइको प्रमाणपत्रमा जसरी उच्च गुणस्तर देखिने गरेको छ, यी दुईमा देखिएको खाडल भर्नु आवश्यक छ । हुनत प्रयोगात्मक परीक्षाको अङ्कभारले परीक्षार्थीको नतीजा राम्रो आएको भनिन्छ तर प्रयोगात्मक परीक्षा विद्यालयमा सञ्चालन हुन्छ कि हुँदैन ? तराई–मधेसका अधिकांश विद्यालयमा कुनै पनि प्रयोगात्मक परीक्षा हुँदैन भन्ने गुनासो रहेको छ । प्रयोगात्मक परीक्षा लिने विद्यालयलाई, अर्को वर्षदेखि विद्यार्थी कम पाउने डर हुन्छ । यस कारण परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको हाजिरीमा सोझै हस्ताक्षर गराउने र सम्भव भएसम्म उच्च अङ्क प्रदान गर्ने परिपाटी विकसित भएको छ । यसले गर्दा परीक्षार्थीहरूले के बुझेका छन् भने जुनसुकै विषयको भए पनि प्रयोगात्मकको कुल प्राप्ताङ्कप्रति आफ्नो हक छ । एकाध नम्बर कम हुँदासम्म सहन सकिने कुरो हो र त्योभन्दा बढी कुनै शिक्षकले कम नम्बर दिए, मलाई कम र फलानोलाई बढी नम्बर दिएको भनेर साथीभाइसहित गएर सम्बन्धित शिक्षकलाई धम्क्याउने शैलीमा सोध्ने गर्छन् ।

शिक्ष्Fा स्थानीय तह मातहत गएपछि शिक्षक कमजोर र विद्यार्थी शक्तिशाली भएका छन् । त्यसैले विद्यालयमा नैतिक शिक्षाको माग हुने गरेको छ । विद्यालयमा अनुशासनको परिपालन असम्भव बन्दै गएको छ । विद्यार्थीमा पढ्ने चाहना औसतमा हराउँदै गएको छ र बढी तर्कको नामका कुतर्क गर्ने प्रवृत्ति विकसित भएको छ । जुनसुकै कुरामा आफ्नो अधिकार देख्न थालेका छन् र शिक्षकहरू डराएरै विद्यार्थीको क्षमताभन्दा बढी नम्बर दिने बाध्यतामा परेका छन् । एकातिर उदार कक्षोन्नति गर्नुपर्ने वा हुने भएपछि सानैदेखि पढाइ नगरे पनि पास होइन्छ भन्ने मनोविज्ञान बन्दै गएको छ भने जो जस्तो भए पनि राम्रै नम्बर दिएर पास गराइदिउँ भन्ने शिक्षकमा जन्मँदै गएको छ । यसले गर्दा विद्यार्थीको प्रमाणपत्रमा राम्रो नम्बर हुन्छ तर जब प्रतिस्पर्धामा उत्रन्छ, निकै पछाडि पर्छ ।

अहिले बालबालिकामा सानैदेखि प्रतिस्पर्धी भावना जगाउनुपर्ने आवश्यकता छ । सानैदेखि बालबालिकामा पढ्नुपर्छ भन्ने भावना जगाउनुपर्ने आवश्यकतालाई व्यवहारमा लागू गर्दै प्रतिस्पर्धी भावना जगाउने हो भने भोलिको दिनमा प्रमाणपत्र र त्यसको गुणस्तरबीचको खाडल कम होला भन्ने आशा पलाउँछ । माथि भनिएको कक्षा बाह्रसम्म पुगेका विद्यार्थीहरू उदार कक्षोन्नतिले गर्दा, नपढे पनि पास हुँदै गएको हुनुपर्छ । अहिले मेडिकलतिरको परीक्षामा यस प्रकारको नतीजा देखिएको छ । यस किसिमको नतीजा अन्य क्षेत्रमा नदेखियोस् । देशका विभिन्न क्षेत्रका परीक्षार्थीले पासमार्क मात्रै होइन, प्रमाणपत्रमा विशिष्ट श्रेणी छ, प्रतिस्पर्धी परीक्षामा पनि त्यही गुणस्तर देखियोस् । यसले गर्दा ती 

जुन सेवा क्षेत्रमा जान्छन्, त्यहाँ उच्च गुणस्तरका कर्मचारी पुगिरहेका छन् भन्ने सबैलाई पर्छ । एकअर्कालाई आरोप लगाएर होइन, व्यवहारमा शिक्षालाई गुणस्तरीय बनाउन एकजुट हुनुपरेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here