अफगानिस्तानमा झन्डै २१ वर्षपछि पुनः तालिबानीहरूको कब्जा भएको छ । तालिबानी विद्रोहीहरूले विश्वको सर्वाधिक शक्तिशाली मुलुक अमेरिका र विश्वकै अत्याधुनिक अस्त्रशस्त्रले सम्पन्न नेटो सेनाको २१ वर्षको नियन्त्रण ध्वस्त पार्दै सत्ता हात पार्न सफल भएका हुन् । यसो भनिरहँदा नेटो सेनासँग भिडेर उनीहरूले विजय प्राप्त गरेका होइनन् अपितु नेटो सेना अफगानिस्तानबाट बाहिरिएपछि मात्र एक सातामा उनीहरूले देशका विभिन्न प्रान्तमा विजय हासिल गर्दै राजधानी काबुल प्राप्त गरेका थिए । अफगानिस्तानको सरकारी सेनाले विनाप्रतिरोध तालिबानी विद्रोहीलाई एक–एक गर्दै २२ प्रान्त र राजधानी काबुलमा कब्जा गर्न दियो । शक्तिशाली राष्ट्रहरू र तिनका शक्तिशाली सैन्य गठबन्धनसँग २१ वर्षसम्म लडेका विद्रोहीले कसरी यति सजिलै अफगानिस्तान कब्जा गर्न सके, विस्मयको कुरा भएको छ । अफगानिस्तानको सरकारी सेनालाई नेटो सैन्य विज्ञहरूले निरन्तर प्रशिक्षण दिएका थिए, अत्याधुनिक हतियार र युद्धका बन्दोबस्ती सामानले सुसज्जित पारेका थिए । अहिले नेटो सैनिक अफगानिस्तानबाट बाहिरिइसकेपछि पनि, आफ्ना नागरिक तथा मातहतका विदेशी नागरिकको सुरक्ष्Fित बहिर्गमनका लागि केही सय अमेरिकी सैनिक, अफगानिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ छन् र सफलतापूर्वक नागरिकलाई अफगानिस्तानबाहिर पठाइरहेका छन् । त्यहीं ठूलो सङ्ख्यामा रहेका अफगानी सैनिकहरू किन प्रतिरोध नै नगरी आत्मसमर्पणको अवस्थामा पुगे?
यस प्रश्नको दुईवटा उत्तर हुन सक्छ । पहिलो, सरकारी सेना अन्तर्मनबाट तालिबानीका साथ थियो । दोस्रो उनीहरूले आफ्नो लडाइँ कहिले लडेनन्, जति पनि युद्ध भयो, त्यो नेटो सेनाले लड्यो । सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित बहुतल्ले ट्विन–टावरमा अल कायदाले हमला गरी क्षति पु¥याएपछि, त्यसका नेता ओसामा बिन लादेनलाई मार्न, किनकि अफगानिस्तानको सत्तामा रहेका तालिबानीहरूले लादेनलाई आश्रय दिएका थिए, अमेरिकाले अफगानिस्तानमा हमला ग¥यो र तालिबानीहरूलाई सत्ताच्युत गरेर आफ्नो कठपुतली सरकार बनायो । सबैलाई थाहा छ कठपुतली आफैं नाच्दैन, उसलाई नचाउन कोही चाहन्छ । नचाउने मान्छे छैन भने कठपुतली नाच्दैन । नतीजा प्रत्यक्ष देखियो, विद्रोहीभन्दा बढी सङ्ख्यामा भएको सरकारी सेना मानसिकरूपले पस्त भयो । राष्ट्रपति पलायन भए ।
नेटो सेना अफगानिस्तानमा रहुन्जेल बनेको कठपुतली सरकार ढुक्क थियो, उसको सुरक्षा विदेशी राष्ट्रहरूले गर्छन् भनेर । आफूलाई सक्षम र आफ्नो सेनालाई भरपर्दो बनाउनुभन्दा नेटोमाथि भर प¥यो । कुनै बाह्य राष्ट्रले कति घरी कसैको लागि लडाइँ लड्छ ? उसको राष्ट्रिय स्वार्थ पूरा हुनेबित्तिकै बाहिरिन्छ । अमेरिकालाई लादेनको शव चाहिएको थियो, त्यो पायो । अब आफ्नो धन र जनको क्षति कतिन्जेल बेहोर्ने ? हो, लादेनलाई मारेपछि पनि लामो समय अमेरिकाले अफगानिस्तान छाडेन, एउटा मात्र कारण थियो, उसले अफगानिस्तान छाड्नेबित्तिकै तालिबानी पुनः सत्तामा आउँछन् र अमेरिकाविरोधी कुनै आतङ्कवादीलाई शरण दिन्छन् । अफगानिस्तानको कथा प्रत्यक्ष छ । नेपाल पनि आजसम्म कुनै पनि मामिलामा अरूको भरमा बाँचिरहेको छ । फूटपाथमा रेलिङ लगाउने कुरा होस् वा विश्वविद्यालयको एउटा भवन बनाउन होस् अथवा कोरोनाविरुद्ध खोपको कुरा होस्, अरूको मुख ताक्ने बानीले अफगानिस्तानको हबिगत बेहोर्नु नपरोस्, समयमैं सचेत हुनु आवश्यक छ ।