नारायणी अस्पतालको फार्मेसीमा अख्तियारको छापा

0

प्रस, वीरगंज, ३२ साउन/

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंंडाको टोलीले नारायणी अस्पतालको फार्मेसीमा छापा मारेको छ ।

सोमवार अख्तियारका क्षेत्रीय कार्यालय प्रमुख अर्जुनप्रसाद शर्माले उपसचिव विष्णु सापकोटा नेतृत्वको पाँच सदस्यीय टोलीले फार्मेसीमा छानबिन शुरू गरेको बताए । विभिन्न सञ्चारमाध्यममा फार्मेसीमा हुने गरेको अनियमितताबारे समाचार प्रकाशन भएको र फार्मेसीको रु १ करोड २३ लाख अनियमितता सम्बन्धमा छानबिन शुरू भएको प्रमुख शर्माले बताए । उनले छापामारीपछि खुल्ने तथ्यबारे सार्वजनिक गरिने बताए । अहिले छापामारी टोलीले अनुसन्धान गर्दैछ, पूर्ण विवरण आएपछि जानकारी गराउने प्रमुख शर्माले बताए ।

अख्तियारका सूचना अधिकृत विष्णु सापकोटाले फार्मेसीमा रहेका औषधिको मौज्दात र खरीद सूचीको अनुसन्धान भइरहेको बताए । उनले अनुसन्धानपछि थप कुरा प्रकाशमा ल्याउने जानकारी गराए ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले अस्पतालको फार्मेसीमा अख्तियारले छानबिन गरिरहेको पुष्टि गरेका छन् । उनले फार्मेसीमा अख्तियारको टोली आएर छानबिन गरिरहेको बताए । नारायणी अस्पतालमा चार वर्षअगाडि फार्मेसी सञ्चालन भएको हो।

रु २० लाखको पूँजीबाट सञ्चालित फार्मेसीको आम्दानीबाट एकजना अधिकृत, चारजना फर्मासिस्ट र एकजना सहायक गरी छजनालाई तलब सुविधा दिनुपर्नेमा अहिले अस्पताल विकास समितिले उनीहरूको तलब सुविधा दिंदै आएको छ । छजनामा मासिक रु २ लाख खर्च छ । अस्पतालको फार्मेसीको अवस्था दिनानुदिन खस्कँदो छ । दैनिक रु ५० हजारभन्दा बढी बिक्री हुने फार्मेसीमा अहिले रु सात हजार पनि मुश्किलले बिक्री हुन्छ ।

त्यसैगरी, औषधि व्यवस्था विभागमा १३ सय औषधि दर्ता रहेकामा फार्मेसीमा १५० भन्दा बढी औषधि उपलब्ध छैनन् । अस्पतालमा लेखिने औषधि फार्मेसीमा दुर्लभ नै पाइन्छ । स्वास्थ्य बीमा गरेकाहरू पनि फार्मेसीबाट औषधि नपाएर बिचल्लीमा छन् ।

यसैबीच अख्तियारको टोलीले अस्पतालको फार्मेसीबाट औषधि खरीदको कागजपत्र सिलबन्दी गरेर लगेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here