प्रस, सेढवा, ३२ साउन/
तीन फिट नौ इन्च लम्बाइ भएकी ६२ वर्षीया बुनी कुमारी (बौनी) अहिले पनि ज्याला मजदूरी गरेर जीवनयापन गर्दैछिन् । आमाबुबा पनि पुड्को भएका कारण उनी पनि पुड्की नै छिन् । उनकी चारजना बहिनी भने सामान्य अवस्थाका छन् ।
जीराभवानी गाउँपालिका–२ सेढवामा रहेको माइतीमा बौनी बस्छिन् । ३० वर्षदेखि बौनी एकल जीवन बिताउँदै छिन् । ३२ वर्षको उमेरमा विवाह भएको केही दिनमैं उनको पतिको मृत्यु भएको थियो । चार दिदीबहिनीमध्ये उनले एकजना दिदीको छोरालाई राखेर एसएलसीसम्म अध्ययन गराए पनि अहिले उनीसँगै छैनन् ।
बौनी सेढवा, वसन्तपुर, काठमाडौंटोल, भवानीपुर, ललितपुर, चमरीटोल, गम्हरिया, क्षत्रीलाइन, गढुवालाइन, शान्तिनगरलगायतका गाउँमा घरेलु काम गर्दै आएकी छन् । रोपाइँ, बाली गोड्ने, घरको लिपपोत, धान कटानीजस्ता ज्याला मजदूरीमा खट्दै आएकी उनी समूहको अगुवाइ गर्छिन् ।
अगुवाइ गरेबापत उनले अन्यभन्दा दोब्बर मजदूरी पाउँछिन् । दैनिक रु १५० मा ज्याला मजदूरी गर्दै आएकी उनले अगुवा भएको कारण कारण रु ३ सय मजदूरी पाउँछिन् र त्यसैबाट गुजारा गर्छिन् । यसका साथै उनले एकल महिला भएबापत सामाजिक सुरक्ष्Fा भत्ता पनि बुझ्ने गर्छिन् । बौनी घरमा एक्लै बस्दै आए पनि उनलाई कुनै स्वास्थ्य समस्या पर्दा गाउँलेहरूले औषधिमूलो गराउँदै आएका छन् ।