परिधानको भद्र आन्दोलन

0
  • सञ्जय मित्र

अस्ति साथीको बर्थडे पार्टीमा मेरो फस्नरले आँ गरेर मुख खोल्यो । मुख खोल्यो कि केही दुःख पोख्यो, भाषा बुझ्न सकिनँ तर धेरैबेरपछि भने मान्यो । फस्नरले बर्थडे पार्टीमा साथीभाइबीच बढाएको बेइज्जतको मात्रा उच्च रह्यो । एक मित्रले सहानुभूति राख्दै मेरी पूर्णाङ्गिनीतिर कर्के आँखाले हेर्दै बोल्यो,  “एक वर्षमा तीन सय पैसट्ठीवटा इज्जत हुन्छ । हरेक इज्जतलाई बिहान, दिउँसो, साँझ र राति गरी चार प्रहरजस्तै चार भागमा बाँड्न सकिन्छ । इज्जतको यो वर्गीकरण पूर्ण वैज्ञानिक र लोकतान्त्रिक छ । अहिले साँझको इज्जत जाँदा पनि पच्चीस प्रतिशत मात्रै जाने हो एक दिनको । यो पनि पूरै गएको छैन । करीब साढे बा-ह प्रतिशत इज्जत जाँदा खुशी मान्नु उचित हुन्छ ।”

मानिसको ध्यान गलतीतिर छिटो जाने रहेछ । त्यो गलती गल्लीमा होओस् कि गुलेलीमा होओस् । बोलीमा होओस् कि टोलीमा होओस्, गलतीले गणना पाउने रहेछ । कस्तो अचम्म, आफ्नो गलती नभए पनि परिणाम आफैंले भोग्नुपर्ने । फस्नरले गल्ती ग-यो र मेरो इज्जत कसरी घट्ने ? फस्नरले मुख आँ गरिरहँदा सहानुभूति राखेर कसैले त्यसको मुख छोपिदिएन क्यारे । अँध्यारोतिर अनुहार फर्काएर मैले फस्नर फकाउने उपक्रम गरिरहँदा कतिको नजर मेरी पूर्णाङ्गिनीतिर किन गएको होला ? धन्न बर्थडे पार्टी राति मात्र हुने रहेछ ।

झन् अस्तिको एउटा घटना हो । बाथरूममा हतारहतार नुहाएर कपडा लगाउँदै थिएँ । गन्जीको हात छिराउने प्वालमा टाउको छिरेछ । बाहिर आगन्तुकलाई कट्टुमा नै फुत्केलाजस्तो गरेर छिटो निस्कने आग्रह आइरहेको छ । गन्जीलाई बल्लतल्ल के लाएको थिएँ, उल्टो परेछ । त्यो पनि दोहोरो उल्टो । अगाडिको भाग पछाडि र पछाडिको भाग अगाडिलाई दोहोरो भनेको होइन । गन्जीको भित्री भाग बाहिर र बाहिरी भाग भित्र परेको थियो ।

हतारमा बाहिर निस्कँदा आगन्तुक साथी मेरो भेष देखेर हाँस्दै यसरी भित्र पसे मानौं केही सेकेन्डले रेल छुट्दैछ । भित्र पसेर तिनले ढोका राम्ररी लगाउन नपाउँदै यस्तो आवाज आयो मानौं द्वन्द्वकालमा टोलछिमेकमा केही पड्किरहेको छ । कहिल्यै सन्चो–विसन्चो पनि नसोध्ने मेरो छिमेकीले आफ्नो छतबाट सोधिन् पनि : घरभित्र त्यस्तो के पड्केको होला ? (छिमेकीको घरमा केही पड्किंदा आफ्नो घर पनि असुरक्षित होला कि भन्ने चिन्ता हुन सक्छ ।) हो नि, छिमेकी भनेकै यस्तो हुन्छ र हुनुपर्छ । तरकारी झानेको आवाज नसुनेकी छिमेकीले देखाएको सहानुभूतिले मेरो इज्जत बढेको महसूस भयो तर फेरि व्यङ्ग्य कसिहालिन् : तपैंले त फेशन टिभीको जस्तो पो कपडा लगाउनुभॉछ ।

जिस्किने मूड त थिएन तर फुत्त मुखबाट निस्किहाल्यो : टिकटकमा परिधान प्रदर्शनी छ, त्यसैमा अपलोड गर्न पुरानै गन्जीलाई नयाँ तरीकाले लगाएको ।

उनी हाँस्दै अलप भइन् ।

आगन्तुक बाहिर निस्कँदै गर्दा सफा मनले भन्दछ : “क्या फसाद, कटुको इजार खोल्दानखोल्दै फुत्किहाल्यो । अर्काको ठाउँमा भएको भए त मेरो कत्रो बेइज्जत हुन्थ्यो । यो त आफ्नै घर हो । घरको कुरो घरैमा रह्यो ।” उसको हबिगत दर्शनीय थियो ।

अनि कसरी भयो यसरी ? मैले प्रश्न गरें ।

आगन्तुक मित्रले पुराण वाचन गरेको शैलीमा भन्यो : “रुघाखोकी लिएर हिजो राति सालीनानीकहाँ बास बसेको थिएँ । जिस्केर हो कि धेरै माया गरेर भातबाहेक सबै खानेकुरा पिरो पकाइन् । माथिबाट रुघालाई च्वाट्टै पार्ने झोल भनेर चाउमिनसँगै दिइने एक बोतल खुर्सानीको झोल पनि दिइन् । म पनि सालीनानीको हातको हो भनेर सबै गुलियो मीठो मानेर खाएँ । खानेबेलामैं मलाई पिरोले बाउको बिहे देखाएको थियो । टाउको रन्थनिएर, पेट हुँडलिएर, मुटु कलेजोमैं आगो लागेकोजस्तो भएको थियो । तैपनि मृदु मुस्कानसहित घरवालीभन्दा प्यारी सालीले दिएको औषधि पिएपछि पिरोपछि हीरो हुने निश्चित थियो । तर टिक्ने नै बिक्छ । म टिक्न सकिनँ र राति नै भागे कुुकुरको पुच्छरमा मटीतेल खन्याएझैं ।

सालीको हर्कतले भने एउटा कुराको आविष्कार भएको छ । आज म घोषणा गर्दछु : “तीनपटक स्वाद दिने पदार्थ खुर्सानी हो । खाँदा पनि बाउको बिहे देखाउँछ, उल्टो ढ्याउ आउँदा पतिकी पत्नी वा पत्नीको पति पोइल वा जोइल गएकोभन्दा पनि बढी पोल्छ र यो दिसा बस्ने बेलामा त झन् चारै दिशा देखेजस्तो हुन्छ । थप ब्याजमा पेट पोल्ने नाफा आउँछ ।” खुर्सानीको रहस्योद्घाटन गर्दा नगर्दै ऊ फेरि भित्र पस्यो ।

हिजो अलिक अचम्म नै भयो । पिकनिक जानको लागि दराजबाट कपडा निकाल्न खोज्छु । कपडै भेटिन्न । सबै कपडा छन् तर लाउने कपडा नै छ जस्तो लाग्दैन । बल्ल बीसौं शताब्दीको एउटा सेट भेट्टाएँ र लाएँ । तिघ्रामा सुकेको र तल भुइँमा लतारिने गरी झन्डै डेढ हात फुकेको पाइन्ट लाउनासाथ मैले घरमैं पालेको कुकुरले भुकेर गिज्यायो । बाहिर के निस्केको थिएँ, नयाँ ग्रहको मान्छे आएजस्तो सबैले यसरी हेर्न थाले कि म बाबाआदमको युगको नागरिक हुँ ।

आज बिहान घरमा कोही थिएन । आनन्दले बाथरूम पसें । मेनगेटमा भित्रैबाट ताल्चा लगाएको हुनाले कोही पस्ला भन्ने डर नभएपछि बाथरूमको ढोका पो किन लाउनुप¥यो । र घरमा एक्लै भएपछि किन प्राकृतवादी स्नान नगर्ने ? जन्मिंदा कपडा लाएको कोही हुँदैन र मर्दा पनि कपडा लाएर कोही जाँदैन । एक्लै भएको बेला केको औपचारिकता ?

कपडा नलिईकन बाथरूममा पसेपछि एउटा टिकटक बनाउन मन लाग्यो । आफ्नो प्राकृतिक रूप र स्वभाव शायद यस्तै बेलामा होला आउने । मानिससित बुद्धि भएकोले मात्रै न हो कपडा लगाउन सिकेको । मानिसबाहेक अरू कसैले कपडा नै लगाउँदैन । कपडा एउटा प्रदर्शन बन्न पुग्नुको कारण पनि यही नै हो । यो लगाउने चलन नै नभएको भए सबै मानिस उस्तै देखिन्थे । अरू सबै कुराभन्दा कपडाले नै हो मानिस मानिसमा भेद सिर्जना गरेको । किन किन कपडा नै सारा विभेद र विकृतिको मूल स्रोत हो भन्ने निष्कर्षमा पु¥यायो ।

बाहिर निस्कन्छु त कपडा कतै छैन । मेरो घरमा कतै कुनै कपडा नै देख्दिनँ । ढोकामा झुन्डिएर आत्महत्या गरेको अभिनय गर्ने पर्दा गायब, ह्याङ्गरमा झुन्डिएर पिङ खेल्ने कपडाहरू पनि गायब, मेरो तौलिया, गन्जी, कट्टु सबै हराए । अलिकति लाज मानेको अभिनय मनले गर्दागर्दै पनि म बाथरूमबाट सोझै दराजतिर लम्कें । कपडाको दराज रित्तै । ओछ्यानमा तन्ना, तोसक र सिरक केही पनि छैन । मेरो शरीर कपडाविहीनजस्तै मेरो घर पनि कपडाविहीन लाग्यो ।

भर्खर बाथरूममा टिकटक बनाउँदा प्रतिपादन गरेको कपडाविहीन दर्शनले साकार रूप लिन पाउँदा मैले खुशी हुनुपर्ने हो तर म आफ्नो कपडाविहीन दर्शनमा अडिरहन सकिनँ । एक छिन पनि टिक्न नसक्ने दर्शन वा सिद्धान्त प्रतिपादन गर्ने ममाथि आफैं लाज लाग्नुपर्ने हो तर कपडा नै नभएपछि केको लाज ? आखिर सबै कपडा कहाँ हराए ?

डोरबेल बज्यो । मनमा अत्यासको आँधीहुरी चल्यो । जीउलाई झ्यालको पल्लामा लुकाउँदै मेनगेटतिर आँखा दौडाएँ । मेरा कपडाहरू मर्निङ वाकमा गएका रहेछन् । तुरन्त भित्र आउने आदेश दिएँ ।

एउटाले बोल्यो : हामी आन्दोलनमा छौं ।

केको आन्दोलन ? कस्तो आन्दोलन ? कपडाको पनि आन्दोलन हुन्छ ?

हामी कसैलाई डिस्टर्ब गर्ने गरी आन्दोलन गर्दैनौं । जुन घरमा आन्दोलन गर्छौं, त्यो घर छाडेर बाहिर निस्कन्छौं । हाम्रो माग पूरा नहुँदासम्म हामी भित्र पस्दैनौं ।

के माग हो तिमीहरूको ? मागहरूबारे पहिले नै बताएको भए हुन्थ्यो नि, पूरा गरिसक्थें कि ?

झन् अस्ति गन्जीले आन्दोलनको सङ्केत गरेको होइन ? फस्नरले अस्ति माग पूरा गराउन आन्दोलन गरेको होइन ? तिम्रो साथी घरमा आउँदा कुनै पनि कपडा समयमा खुल्न नमानेको होइन ? तीन टिकट महाविकट भनेझैं तीनपटक चेतावनी दिइसकेका थियौं तर पनि हाम्रो माग पूरा नहुने भएपछि आन्दोलनको बाटो समातेका हौं ।

माग के हो ?

हाम्रो मागको विषयमा हामी अहिले टेबुलमा बसेर कुराकानी गरौंला । हाम्रो भद्र आन्दोलन हो । हाम्रो कुरा सुन्न तिमी तयार छौं भने हामी भद्र आन्दोलन स्थगित गर्दछौं । तत्काललाई यति बुझिराख : हाम्रो पनि मानसम्मान हुन्छ र तिमीहरूको पनि अपमान हुन्छ । परिधानको अपमान गर्नेको मानिसहरूकै बीचमा उसको सम्मानको बोक्रा उप्किइन्छ ।

हस् भन्दै म नतमस्तक हुन्छु । अलार्म बज्छ । निद्रा खुल्छ । हस्याङ्फस्याङ गर्दै यताउति हेर्छु । सबै ठीकठाक छ, अघिको टिकटक छैन ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here