बेरुत, २० साउन/सिन्ह्वा

लेबनानले मुलुक गम्भीर सङ्कटमा पुगेकोले सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको छ ।

राष्ट्रपति मिचेल औनले बुधवार मुलुक अति अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा विश्व समुदायको सहयोग अत्यावश्यक भइसकेको उल्लेख गरिएको छ ।

विकासमा धेरै पछाडि परेको मुलुक लेबनानमा अहिले अकल्पनीय तरीकाले गरीबी बढिरहेको छ।

त्यसैगरी, कोरोना भाइरस महामारीले पनि लेबनानलाई नराम्रोसँग थला पारेको छ । महामारीका कारण औषधिको अभाव र स्वास्थ्य सेवामा समस्या भइरहेको छ ।

सरकारी अधिकारीहरूका अनुसार सिरियाबाट विस्थापितहरूको ठूलो भार पनि लेबनानलाई नै परेको छ । त्यसैले लेबनानलाई सहयोगको खाँचो परेको उनीहरूले बताएका छन् ।

लेबनानमा अहिले विद्युत् तथा पानीसम्बन्धी सेवाका लागि भौतिक संरचनाहरू निर्माण तथा मर्मत गर्न सहयोगको आवश्यकता रहेको छ । त्यसैगरी, लेबनानको सैनिकलाई पनि सहयोगको खाँचो रहेको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

बेरुत नाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि चाहिने सहयोग आफूहरूका लागि सबैभन्दा प्राथमिकतामा रहेको उनको भनाइ छ ।

बेरुत नाका देशको अर्थतन्त्रका लागि ठूलो कोसेढुङ्गा भएपनि अहिले सञ्चालन नभएकाले समस्या भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here