प्रस, रौतहट, २० साउन/
स्थानीय निकाय तथा सरोकारवालाहरूसँग बीमासम्बन्धी जनचेतनामूलक अन्तक्र्रिया उद्योग वाणिज्य सङ्घ गौरको सभाहलमा बुधवार सम्पन भएको छ ।
बीमा समितिद्वारा आयोजित कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ताले बीमा कम्पनीले बदमाशी गरेको खण्डमा बीमा समितिले कारबाई गर्ने कुराको जानकारी जनसमुदायमा नरहेको बताए ।
जीवन बीमामा कठिनाइ नभए पनि व्यापार तथा व्यवसायमा गरेका बीमामा कठिनाइ हुने गरेको नगरप्रमुख गुप्ताले बताए ।
बीमा गर्ने क्रममा अभिकर्ताले प्रतिबद्धता गरेका कुरा भुक्तानी हुने गर्ने बेलामा बीमा कम्पनीले विभिन्न बहानामा रकम कटौती गर्ने गरेकोप्रति उनले दुःख व्यक्त गरे ।
स्वास्थ्य बीमा गरेका व्यक्तिले सरकारी अस्पतालमा उपचार गराउन जाँदा राम्रोसँग उपचार नपाएकाले अधिकांशले स्वास्थ्य बीमा गराउन नचाहेको नगरप्रमुख गुप्ताले अवगत गराए । बीमा समितिका संयोजक दिनेशलाल कर्णले विभिन्न बीमा कम्पनीबारे जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले सरकारी कर्मचारी, राजनीतिक दलका नेता–कार्यकर्ता, शिक्षक जस्ता अन्य व्यवसाय गरेका व्यक्तिलाई बीमा अभिकर्ता बनाएकोमा जनमानसमा विश्वासको कमी देखिएको बताए ।
बीमा कम्पनीले कर्मचारी नियुक्त गरी बीमा अभिकर्ता बनाउन उनले सुझाव दिए । कतिपय अभिकर्ताद्वारा जनता ठगिएको कुरा उनले अवगत गराएका थिए ।
त्यसैगरी, उद्योग वाणिज्य सङ्घका महासचिव गङ्गाधर वर्मा, गौर नगर पालिकाकी उपप्रमुख किरण ठाकुरलगायतले आआफ्नो धारणा राखेका थिए ।
बीमा समितिले अभिकर्तालाई कुनै उपलब्धि नगराएको बीमा अभिकर्ताहरूले गुनासो गरेका थिए।