प्रस, सेढवा, १९ साउन/

ठोरी गाउँपालिका–२ शिकारीवासका मानिसहरू अहिले पनि विद्युत् सेवाबाट वञ्चित छन् ।

पर्सा जिल्लाका १४ वटा पालिकामध्ये ठोरी गाउँपालिकाको यो एउटा टोल मात्र विद्युत् सेवाबाट वञ्चित छ । शिकारीवासमा ५२ घरधुरी छन् भने २५० भन्दा बढी बासिन्दा छन् । अधिकांश थारू बाहुल्य रहेको यो बस्ती निर्मलबस्तीबाट ७ किलोमिटर उत्तर र ब्रह्मनगरबाट ३ किलोमिटर उत्तर, पर्सा राष्ट्रिय निकुञ्ज तथा चितवन राष्ट्रिय निकुञ्जको दोसाँधमा छ ।

बिजुली बत्ती नभएको कारण थारू समुदायका सम्पन्नले सोलार प्यानल जडान गरेका छन् भने गरीबहरूले अहिले पनि टुकीमा जीवन व्यतीत गर्दै आएका छन् । शिकारीवासमा संसदीय विकास कोषबाट पाँचवटा सार्वजनिक सोलार बत्ती जडान गरिएको थियो, जसमा अहिले दुईवटा मात्र बलिरहेका छन् भने तीनवटा बिग्रिएका छन् ।

नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्र अन्तर्गत यो क्ष्Fेत्र पर्दछ । पोखरिया वितरण केन्द्रले चितवनको माडी नगरपालिका अन्तर्गत बाँदरझुलास्थित सशस्त्र प्रहरी बेस क्याम्पसम्म विद्युत् जडान गरेको छ तर त्यस अघि पर्ने शिकारीवासमा विद्युत् लाइन छैन । स्थानीयले सशस्त्र प्रहरी बेस क्याम्पसम्म विद्युत् लाइन जडान गरिनु तर त्यसअघि पर्ने बस्तीमा विद्युत् नदिनु पूर्वाग्रहपूर्ण भएको आरोप लगाएका छन् ।

स्थानीय युवा राजेन्द्र चौधरीले विद्युत् सेवा जडानको लागि आफूले जनप्रतिनिधिसँग पटक–पटक पहल गरेको बताए । उनले विद्युत् नहुँदा शिकारीवासका जनता रेडियो, टेलिभिजन, मोबाइलको प्रयोगबाट वञ्चित छँदैछन् । दैनिक अँध्यारोमा रात गुजार्नुपर्ने बाध्यता पनि बेहोर्दै आएको बताए ।

ठोरी गापा–३ का अध्यक्ष सूर्यबहादुर लामाले शिकारीवासका जनताको लागि आफूले विद्युत् जडानको लागि प्रयास गर्दै आएको दाबी गरेका छन् । उनले नेपाल विद्युत् प्राधिकरण फ्युज शाखा सुवर्णपुरका कर्मचारीसँग पोल, तार जडानका लागि दुईपटक सर्भे गराएको तर पनि विद्युत् लाइन प्रवाह नगरेको बताए । उनले बस्तीमा चालू आवमा रु ७ लाख सोलार बत्ती जडानको लागि विनियोजित गरिएको बताए । शिकारीवासमा जङ्गली जनावरको आक्रमण बढी हुने गरेको छ तर बस्ती अन्धकारमा भएकोले जङ्गली जनावरको शिकार हुने सम्भावना बढी भएको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रका इन्जिनीयर निर्मल फनैतले शिकारीवासमा विद्युत् जडानको लागि कसैले पहल नगरेको बताए । उनले विद्युत् सेवाको माग भएको खण्डमा निरीक्ष्Fण गरेर सेवा प्रदान गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here