प्रस, बिरुवागुठी, १९ साउन/
पर्सागढी नगरपालिका अन्तर्गत पर्ने कर्जनिया र सिङ्गाही खोलाबाट अवैध उत्खनन भइरहेको छ ।
स्थानीय तहले साउन १ गतेदेखि असोज १ गतेसम्मको लागि गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन तथा निकासीमा रोक लगाएको छ । तर सो खोलाबाट अहिले तस्करहरूले गिट्टी, बालुवाको तस्करी गरी निजी कार्यको लागि महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।
वनका कर्मचारी र प्रहरीको मिलेमतोमा तस्करहरूले सिङ्गाही खोला र कर्जनिया खोलाबाट बिहान–बेलुका गिट्टी, बालुवा र ढुङ्गाको तस्करी गरिरहेको स्थानीयवासीले बताएका छन् ।
सो खोलाको नाकामा पर्ने सबडिभिजन वन कार्यालय बडनिहार, रेन्जपोस्ट छतवनटाँडी, मनवा रेन्जपोस्ट तथा बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकी रहे तापनि उनीहरूकै मिलेमतोमा तस्करी हुने गरेको बताइएको छ । उनीहरूकै मिलेमतोमा सो नदीहरूबाट बिहान, बेलुका तथा राति दर्जनौं ट्याक्टर खोलामा प्रवेश गरी गिट्टी, बालुवा र ढुङ्गा लोड गरी दिनदहाडै वन कार्यालय र प्रहरी चौकी अगाडिबाट लैजाने गरिएको छ ।
अहिले पर्सागढी नगरपालिकामा स्थानीयवासीले निजी प्रयोजनको लागि रु दुई हजार पाँच सय पर्ने गिट्टी, बालुवा चार हजारमा र रु पाँच हजार प्रतिटिप पर्ने ढुङ्गा ८ हजारमा तस्करहरूसँग खरीद गरिरहेका छन् ।