खत्तम छ यो बाजे !

1
740
  • डिआर दाहाल

‘खत्तम छ यो बाजे !’ मैले अनेकथरी भनेर हसाउँदा उसले प्रायः यही शब्द भनेर ढ्याप्प ढाडमा हिर्काउँथ्यो मलाई । सुकिलो मान्छे, खाइलाग्दो ज्यान, बाह्रैमास टिलिक्क टल्केको टाउको । मानौं वीरगंजका लामखुट्टे ओर्लने हेलिप्याड नै थियो ।

कतिपटक त लामखुट्टे चिप्लिएर उत्तानोपाद पर्छ होला होइन ? विजय दाइ, मैले भन्थे । खत्तम छ यो बाजे उसको रेडिमेड शब्द निस्किन्थ्यो । चौबीसै घण्टा केही न केही गरिरहने व्यस्त मान्छे लाग्थ्यो मलाई, विजय दाइ । मानौं ऊ हरेक काममा विजय हासिल गर्न चाहन्थ्यो । हाफपेन्टमा सजिन मन पराउने तपाईं व्यस्त भएर पैन्ट लाउन नभ्याउने हो विजय दाइ ? मैले प्रायः सोधिरहन्थे । खत्तम छ यो बाजे ! उसले ठूलो स्वरमा हाँस्दै भन्थ्यो । जिन्दगीको यात्रामा कैयौं दिन र रात सँगै यात्रा गर्दा कहिल्यै थाकेको र निराश भावमा देखिएनन् विजय दाइ ।

जेसीजका यात्राहरूमा धेरै रात र दिन सँगै बिताएको छु मैले । ‘दाइ, उलेनको मोजा लगाएर सुत्यो भने त राति नै मरिन्छ रे ! जेसीजको दमक महाधिवेशनमा एउटा कोठामा दशजना खादिएर सुत्दै गर्दा मैले भनेको थिएँ । पुसको महीनामा जुरुक्क उठेर मोजा खोल्दै उसले भनेको थियो– खत्तम छ यो बाजे ! उसले हत्तारिंदै मोजा खोल्दै गर्दा यस्तो भान हुन्थ्यो मानौं ऊ जिन्दगीको यात्रामा धेरै टाढासम्म हिंड्न चाहन्थ्यो । बाँच्न चाहन्थ्यो । पूर्व मेचीदेखि पश्चिम धनगढीसम्मको जेसीज अभियानको यात्रामा कहिल्यै थाकेको देखिनँ मैले विजय दाइलाई ।

धनगढी जेसीजको कार्यक्रममा सानो शहर धेरै पाहुनालाई खानपिन र सुत्ने व्यवस्था गर्नुपर्ने । हामी वीरगंज जेसीजका साथीहरू एउटा सानो होटेलमा सुतेका थियौं । उन्नत जातका लामखुट्टे र खलिफा उडुससँग लाप्पा खेल्दै हामी सुत्नै सकेनौं । झुल र धुप सम्झनामा मात्र थिए । सिरकले मुख छोप्यो कि गन्हाएर हुरुक्क हुने । के गरी सुत्ने ? विजय दाइले सोध्यो । मैले अन्डरवियर ले मुख छोपेर सुत्नु भन्दा उसले भनेको थियो– खत्तम छ यो बाजे ! जसोतसो उज्यालो भयो । म, निशान्त, विवेक, सन्तोष, बद्री, गङ्गा दाइ, अमर, प्रवीण दाइ, गणेश दाइ हामी सबै उठ्यौं । त्यो सिरकरूपी ब्लान्केटको रङ्ग मुखमा सरेर सबैको मुख रातो, पहेंलो, हरियो, नीलो रङ्गीचङ्गी भएको थियो । हामी एकअर्काको मुख हेरेर खूब हास्यौं ।

त्यो बेला माओवादीको बिगबिगी । सातामा एक दिन पनि नेपाल बन्द नहुँदा अनौठो लाग्ने बेला । हामी जेसीजको कार्यक्रम सकेर काठमाडौंबाट वीरगंजका लागि रवाना भयौं । हेटौंडा र मनहरीको बीचमा राति सडकजाम थियो । शायद कुनै घटना भएको थियो । वर्षात्को समय घरी गाडीमा घरी सडकमा सुत्दै उज्यालो भयो । बिहानै भएकोले सबैलाई शौचालय नगई नहुने भयो । हामी सबैले जसोतसो जङ्गल झाडीको आडमा लुकेर ग-यौं । एकजना प्रिय मित्र थिए, राजा ।

उनलाई ढोका भएको शौचालय नै चाहिने । एकजनाको घरमा बिन्ति गरेर राजालाई शौचालय पठाइयो । मैले ‘राजाहरू खानपिनका मात्र शोखिन भनेको त शौचालयका पनि शोखिन हुँदा रै‘छन्’ भन्दा विजय दाइले ‘खत्तम छ यो बाजे १’ भन्दै हाँसेको थियो । विजय दाइको वीरगंज जेसीजमा अध्यक्षको कार्यकाल शुरू भयो । हाम्रो दैनिक जमघट हुने थलो बन्यो, हिमाञ्चल केबिन । सामान्यरूपमा भन्दा त्यो एउटा चियानास्ता र मिठाइको पसल थियो । तर हाम्रोलागि या भनौं वीरगंजवासीका लागि त्यो पुरातात्विक महत्वको स्थल थियो ।

शताब्दीदेखि वीरगंजको साक्षी बनेर बसेको थियो, हिमाञ्चल केबिन । धेरै आन्दोलन र राजनीतिक उथलपुथलको प्रत्यक्षदर्शी थियो, हिमाञ्चल केबिन । धेरै बटुवाको विश्रामस्थल थियो, हिमाञ्चल केबिन । घण्टाघरको सुखदुःखको साथी थियो, हिमाञ्चल केबिन । हाम्रो त साँझको विश्रामस्थल नै थियो, हिमाञ्चल केबिन । वीरगंज जेसीजको हल निर्माणदेखि लिएर हरेक कुराको योजनास्थल थियो, हिमाञ्चल केबिन । भित्र पसेपछि देब्रेपट्टिको सानो कोठा हाम्रो पेवा नै थियो । श्वास फेर्ने फुर्सद थिएन विजय दाइलाई । आफू अध्यक्ष हुँदाको कार्यकालमा जेसीजमा बढी समय दिने भनेर पसलको लागि छिटोछरितो सजिलै सबैले गर्न सक्ने भनेर एउटा सफ्टवेयर नै खरीद गरेको थियो उसले ।

भेजपकौडा र चियाका साथमा धेरै योजना बनायौं हामीले विजय दाइसँग । समय बित्दै गयो अनि समयको मागसँगै म पनि मेरो प्यारो कर्मस्थल वीरगंज छाडेर काठमाडौंतिर लागें । तथापि वीरगंज बाक्लो आउजाउ हुन्थ्यो र मुख्य गन्तव्यहरूमध्ये पथ्र्यो प्यारो विजय दाइ अनि हिमाञ्चल केबिन । मलाई महीना र दिन सम्झना छैन र सम्झिने मन पनि छैन । वीरगंजबाट काठमाडौं आएर बसेका साथी/दाइहरू मिलेर कोरोनाकालको समयमा एउटा म्यासेन्जर ग्रुप बनेको थियो । कोरोनाकालको अत्यासलाग्दो समयमा उनीहरूसँग अनेकथरी कुरा हुन्थे, रमाइलो हुन्थ्यो ।

एक दिन अकल्पनीय खबर आयो ग्रुपमा । विजय हाम्रोबीच रहेनन् ! मृत्युको समाचार त दुःखद नै हुन्छ तर म ढुक्क थिएँ कि त्यो विजय हाम्रो विजय दाइ हैन भनेर । मैले भन्ठानें मेरो चिनजानका कोही होला । उसको शारीरिक बनावट, उसको मिजास, उसको निष्कपट शैली, उसको आफ्नोपन देखेर मलाई किन हो किन ऊ अजम्बरीझैं लाग्थ्यो । खबरमा आएको विजयको पछाडि पक्कै राजकर्णिकार जोडिएको छैन र नहोस् भन्नेमा ढुक्क थिएँ म । ढुक्क हुन खोजें । यो खबर अधूरै रहोस् । मन भित्रभित्रै हिमाञ्चल केबिननजीककै मन्दिर गहवामाई सम्झें । धेरै साथीसँग फोन सम्पर्क गर्ने प्रयत्न गरें । तर असफल रहें । पछि बासु दाइसँग कुरा भयो । दुर्भाग्य ! समाचार सत्य रहेछ ।

त्यो विजय अरू कोही नभएर राजकर्णिकार नै थियो । हाम्रो परम मित्र विजय । मनले स्वीकार गर्न तयार भइनँ । पापी कोरोनाले छोएपछि अरूले छुन नपाइने । सेनाले प्लास्टिकमा बेरेर जिम्मा लिएको शरीर झुक्किएर अरूको पनि त हुन सक्छ ? आखिर अनुहार कसले हे-यो र ? एउटा झिनो आशा थियो मनमा । विद्या चापागाईंको ‘हेर्ने’ कथामा त्यसरी नै विदेशबाट बेरेर आएको व्यक्तिलाई जलाइन्छ । जूठो बारिन्छ । तर पछि त्यो व्यक्तिको विदेशबाट फोन आउँछ र ऊ जिउँदै रहेको खबर आउँछ । आज पनि ती व्यक्ति मोरड्ढो एउटा गाउँमा हाँसीखुशी रमाइरहेका छन् । तिनको ठाउँमा बागलुड्ढा अर्कै व्यक्तिको लाश जलाइएछ । म त्यही चमत्कारको झिनो आशामा थिएँ । तर सबै कथा ‘हेर्ने’ कथा जस्तो नहुँदो रहेछ ।

वीरगंजले कर्मठ युवा गुमायो । मैले एउटा असल मित्र । दैवको लीला विजय दाइकै बाटोमा ममता दिदी अनि आमा पनि लाग्नुभएछ । वीरगंजको इतिहासको गवाह बनेर बसेको त्यो प्यारो हिमाञ्चल केबिनको ढोका सधैंको लागि बन्द भएको सुनेर कताकता एउटा इतिहासको अवसान भएको महसूस भएको छ । 

प्रत्येक घण्टामा बोलाइरहँदा जाने अनि सुखदुःखका कुरा गर्ने घण्टाघरको साथी थियो, हिमाञ्चल केबिन । सुन्दैछु आजकल त घण्टाघर पनि केही नबोली चुपचाप छ रे ! हिमाञ्चल केबिनको यादमा प्रत्येक घण्टापिच्छे आवाज दिन छोडेको छ अरे ! जिन्दगीका अनेक यात्रामा सँगै यात्रा गरे पनि पापी कोरोनाले गर्दा परम मित्रको अन्तिम यात्रामा सहभागी भएर पुष्प चढाउन नपाउनु चाहिं दैवको लीला नै त होला नि । एउटा असल मित्र मृत्युबाट पराजय भएपनि हाम्रो मनमा सदैव विजय हासिल गरिरहनेछ । तिम्रो सधैं याद आइरहनेछ, विजय दाइ !

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here