पाठ्यपुस्तक र छात्रवृत्तिको वितरणमा ढिला

0
181

प्रस, पंचगावाँ, ६ साउन/

पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूको छात्रवृत्ति र पाठ्यपुस्तकबापतको रकम हिनामिना गरिएको आरोप छ । सम्बन्धित पालिकाबाट सामुदायिक विद्यालयहरूले छात्रवृत्ति र पाठयपुस्तक वितरणको लागि गत आवको असारमा रकम निकासा लिएका थिए । तर थोरै मात्र विद्यालयले पुस्तक वितरण गरेका छन् भने छात्रवृत्ति वितरण गरेका छैनन् ।

विद्यालय भौतिकरूपमा सञ्चालनमा नरहेको बहानामा छात्रवृत्तिबापतको रकम निकासा गराएर प्रअहरूले आफ्नो व्यक्तिगत खर्चमा प्रयोग गरेको आरोप छ । यसैगरी, थोरै मात्र विद्यालयले पाठ्यपुस्तक वितरण गरेका छन् भने अधिकांशले वितरण गरेका छैनन् । शैक्षिक संस्था बन्द भएको र घरमैं बसेर पढ्नको लागि पाठ्यपुस्तक नभएका कारण विद्यार्थीहरूलाई समस्या परेको छ ।

वीरगंज महानगर, पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिका र सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, जीराभवानी, छिपहरमाई, पकाहामैनपुर, धोबिनी, ठोरी, विन्ध्यवासिनी गाउँपालिकाहरूमा रहेका सामुदायिक विद्यालयहरूमध्ये थोरैले मात्र पाठ्यपुस्तक वितरण गरेका छन् भने अधिकांशले वितरण गरेका छैनन् । दुवै शीर्षक अन्तर्गत पालिकाहरूबाट प्रअहरूले रकम निकासा गरेको तर त्यसको सदुपयोग गरेका छैनन् ।

नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष तीर्थराज यादवले असार महीनामा दुई किस्तामा छात्रवृत्ति र पाठ्यपुस्तक खरीदका लागि रकम निकासा भएको र सम्बन्धित विद्यालयको खातामा पठाइएको आफूले सूचना पाएको बताए । उनले वीरगंज महानगरसहित ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमध्ये थुप्रैमा पुस्तक वितरण प्रक्रिया शुरू भएको र भौतिक रूपमा विद्यालय सञ्चालनमा नआएकोले छात्रवृत्तिको रकम वितरण हुन नसकेको बताए ।

उनले कतिपय विद्यालयहरूले भीडभाड नगरी छात्रवृत्ति वितरण गरेको सूचना आफूले पाएको बताए । भीड हुने विद्यालयले अहिलेसम्म छात्रवृत्ति वितरण गर्न नसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here