मुस्लिम समुदायको पर्वप्रति सामाजिक सहानुभूति

0
49
  • सञ्जय साह मित्र

नेपाल बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक र बहुभाषिक देश हो । यस देशमा सबैभन्दा ठूलो समुदाय हिन्दूको छ भने दोस्रो ठूलो बौद्धको । भगवान् बुद्धको जन्म नेपालमा भएको हो तर पनि यहाँ बौद्ध समुदाय हिन्दू समुदायको तुलनामा कम छ । विश्वका कतिपय देश बौद्ध धर्मका अनुयायी अवश्य रहेका छन् ।

एशिया र युरोपसम्म बौद्ध धर्मको प्रभाव रहेको छ । यदि सार्कलाई धार्मिक आस्थाको दृष्टिकोणले हेर्ने हो भने यहाँ हिन्दू, बौद्ध र मुस्लिम मुख्य तीन धर्मावलम्बी देखिन्छन् । विभिन्न हिन्दू धर्मशास्त्रले भगवान् बुद्धलाई पनि विष्णुको अवतारको रूपमा मान्ने गरेको देखिन्छ । यसकारण हिन्दू धर्मशास्त्रलाई यदि मान्ने हो भने बौद्ध धर्म पनि हिन्दू धर्ममा नै समेटिंदा हुने देखिन्छ । तर बौद्ध धर्म र दर्शनसम्बन्धी आफ्नै अनेक मत वा सिद्धान्त विकसित भइसकेको तथा कतिपय देशका बौद्ध धर्मावलम्बीहरूलाई हिन्दू शास्त्रका यस्ता विषय सम्भवतः जानकारी नै नभएको पनि हुन सक्छ ।

यसकारण बौद्ध धर्मलाई भगवान् बुद्धको जन्म देश नेपालमा पनि धर्मकै मान्यता प्राप्त छ भने भारतमा पनि बौद्ध धर्मावलम्बी पर्याप्त छन् । नेपालमा मुस्लिम समुदाय अल्पसङ्ख्यक छ । मुस्लिम समुदायका चाडपर्वहरू हिन्दू समुदायभन्दा फरक रहेको छ । कतिपय हिन्दूलाई मुस्लिम समुदायको चाडपर्व बारे खासै जानकारी रहेको पाइँदैन । यद्यपि सामाजिक सञ्जालको विकास तथा टेलिभिजन र पत्रपत्रिका अनि इन्टरनेटको बढ्दो प्रयोगको कारण अब मुस्लिम समुदायबारे पनि धेरै कुरा जानकारी हुन थालेको छ ।

सरकारले मुस्लिम समुदायको चाडपर्वमा सरकारी बिदा दिन थालेपछि मानिसमा चासो बढ्न थालेको छ । जानकारी बढ्न थालेको छ । अहिले शिक्षा र चेतनाको प्रसार बढ्न थालेकोले पनि मुस्लिम समुदायबारे र मुस्लिम समुदायको चाडपर्वबारे थोरबहुत जानकारी लिन थालेको हो समाजले । तर अझै पनि जुन गाउँमा मुस्लिम समुदाय छैन, त्यहाँका सर्वसाधारणलाई मुस्लिम समुदायको चाडपर्वबारे खासै जानकारी छैन ।

सार्क मुलुकमा मुस्लिम समुदायको उपस्थिति धेरै छ । सार्कका आठ देशलाई यदि हेर्ने हो भने हरेक देशमा मुस्लिम समुदायको करीब बाक्लो उपस्थिति रहेको छ । एक तथ्याङ्क अनुसार माल्दिभ्सका शतप्रतिशत बासिन्दा मुस्लिम छन् । यसै गरी अफगानिस्तानमा पनि उनान्सय प्रतिशत बासिन्दा मुस्लिम समुदायका छन् । पाकिस्तानको अवस्था पनि करीब करीब उस्तै छ ।

साढे छयान्नबे प्रतिशतभन्दा बढी पाकिस्तानी मुस्लिम धर्मावलम्बी छन् र बङ्गलादेशमा पनि करीब साढे नब्बे प्रतिशत नागरिक मुस्लिम समुदायका छन् । यसरी सार्कका आठ देशमध्ये चार देशमा अत्यन्त बढी सङ्ख्यामा मुस्लिम समुदाय छ । अलिकति पनि शङ्का छैन, माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान र बङ्गलादेश मुस्लिमबहुल देश हुन् । सार्कका अन्य चार देशहरू भारत, श्रीलङ्का, नेपाल र भूटानमा क्रमशः मुस्लिम समुदायको उपस्थिति कम हुँदै गएको छ । भारतमा साढे चौध प्रतिशत, श्रीलङ्कामा पौने दश प्रतिशत, नेपालमा साढे चार प्रतिशतको हाराहारीमा मुस्लिम समुदाय छ भने भूटानमा ०.२ प्रतिशत अर्थात् नगण्य मात्रामा मुस्लिम समुदायको बसोवास छ ।

अलिकति राम्ररी विचार गर्ने हो भने धार्मिक दृष्टिकोणले सार्कमा केही विशिष्टता देखिन्छ । जस्तो कि माथि नै चर्चा भइसकेको छ माल्दिभ्समा शतप्रतिशत एकै समुदाय अर्थात् मुस्लिम समुदायको बसोवास छ । शतप्रतिशत एकै धर्मावलम्बीको बसोवास रहेको देश माल्दिभ्स हो । यसैगरी हरेक देशमा मुस्लिमको उपस्थिति छ । किरात धर्मावलम्बी नेपालमा मात्र देखिन्छन् भने तथ्याङ्कमा उल्लेख भए अनुसार सिखहरू भारतमा छन् ।

बौद्ध धर्मावलम्बी नभएको देश अफगानिस्तान, माल्दिभ्स र पाकिस्तान हो । ईसाई र हिन्दू धर्मावलम्बी औपचारिकरूपमा तथ्याङ्कमा नदेखिएका देशहरू अफगानिस्तान र माल्दिभ्स हुन् । बौद्ध धर्मावलम्बीको दृष्टिकोणले हेर्ने हो भने बङ्गलादेशमा ०.५ प्रतिशतभन्दा केही बढी, भारतमा ०.७ प्रतिशत र नेपालमा नौ प्रतिशत छन् । भूटान र श्रीलङ्कामा बौद्ध धर्मावलम्बी अत्यधिक प्रतिशतमा रहेका छन् ।

श्रीलङ्कामा बौद्ध धर्मावलम्बी सत्तरी प्रतिशतभन्दा बढी तथा भूटानमा पनि चौहत्तर प्रतिशत करीब छन् । नेपाल र भारतमा हिन्दू समुदायको उपस्थिति सर्वाधिक देखिन्छ । भारतमा हिन्दूहरू करीब असी प्रतिशतको हाराहारीमा देखिन्छन् भने नेपालमा एकासी प्रतिशत । यसरी सार्कमा हिन्दू, इस्लाम र बौद्ध धर्मावलम्बी गरी मुख्य तीन धर्मावलम्बी रहेका छन् भने ईसाई पनि सार्कका करीब सबै देशमा छन् ।

नेपालमा अल्पसङ्ख्यक भए पनि मुस्लिम समुदायको उपस्थिति हरेक प्रदेशको करीब हरेक जिल्लामा देख्न सकिन्छ । देशभरि छरिएर रहेका मुस्लिम समुदायको आफ्नो छुट्टै पहिचान छ । फरक धार्मिक आस्था र संस्कृति पनि फरक भएकोले मुस्लिमहरूको चाडपर्वबारे सामान्य मानिसलाई पहिलेदेखि खासै जानकारी हुँदैन । हिन्दू र अन्य धर्मावलम्बीको चाडपर्वबारे औपचारिक क्यालेन्डरबाट पहिले नै जानकारी प्राप्त हुन्छ तर मुस्लिम समुदायको पर्वबारे अन्य समुदायलाई पहिले नै जानकारी हुँदैन । फलानो महीनामा यो पर्व पर्छ भन्ने त जानकारी हुन्छ तर यकीन गरेर फलानो दिन, तिथि वा गते हुन्छ भन्ने कुरो चाडपर्व निकै नजीक आएपछि मात्र थाहा हुन्छ ।

हुन त प्रदेश २ मा मुस्लिम समुदायबाट नै मुख्यमन्त्री रहेका छन् । यस प्रदेशको पहिलो मुख्यमन्त्री मुस्लिम समुदायबाट हुनु धार्मिक सौहार्दताको उदाहरण हो । मुस्लिम समुदायबाट मुख्यमन्त्री भइसकेपछि यसबारे जानकारी लिन चासो राखेको देखिन्छ भने मुस्लिम समुदायको चाडपर्वबारे अलि बढी जानकारी प्राप्त गर्न खोजेको देखिन्छ । मुस्लिम समुदायको सानो तथा ठूलो पर्वबारे कम्तीमा प्रदेशका मिडियाहरूले कभर गर्न थालेका छन् । कुनैकुनै पर्वमा केन्द्र सरकारले बिदा नदिए पनि प्रदेश सरकारले बिदा दिने गरेको देखिन्छ । यसरी कहिलेकाहीं प्रदेश सरकारबाट बिदा थपिंदा यस प्रदेशका अन्य समुदायले मुस्लिम समुदायबारे र त्यस पर्व वा दिवसबारे बढी जानकारी लिन पाउँछन् ।

आजभोलि मुस्लिम समुदायका चाडपर्वमा हिन्दू समुदाय र हिन्दू समुदायको चाडपर्वमा मुस्लिम समुदाय सहभागी हुने, शुभकामना आदानप्रदान गर्ने तथा औपचारिक–अनौपचारिक हार्दिकता निर्वाह गर्ने प्रचलन निकै बढेको छ । समाजमा यो सकारात्मक परिवर्तन हो । यद्यपि प्रदेश २ मा हिन्दू समुदायको अत्यधिक उपस्थिति भए पनि मुस्लिम समुदायको पनि सम्मानजनक उपस्थिति छ । प्रदेशको हरेक शहर तथा पालिकामा मुस्लिम समुदायको उपस्थिति रहेको र स्थानीय सरकारका सदस्यहरूले मुस्लिम समुदायको पर्व तथा संस्कृतिलाई पनि प्राथमिकतामा राख्ने गरेको देखिएको छ । अझ मुस्लिम समुदायका दुई मुख्य पर्वहरू इद र बकर इदको शुभकामना दिने औपचारिक चलनको विस्तार भइरहेको छ ।

दुई ठूला पर्वमा हिन्दू समुदाय पनि खुशीका साथ सहभागी हुन्छन् । मुख्य गरी गणतन्त्र आइसकेपछि मुस्लिम समुदायको घरमा नै पुगेर पर्वको खुशी साटासाट गर्ने तथा पर्वको हिस्सेदार बन्ने चलनको विकास भएको छ । यसले गर्दा हिन्दू समुदायको सहानुभूति र सहयोग मुस्लिम समुदायका पर्वहरूप्रति बढ्दै गएको र सामाजिक एकताको वातावरण थप बलियो बन्दै गएको प्रमाणित भएको देखिएको छ । हिन्दू समुदायबीच मात्र नभएर अन्य धर्मावलम्बीसमेतसँग भाइचारा र आत्मिक सम्बन्ध विस्तार हुँदै गएको देखिएको छ । हाम्रो समाज यस मामिलामा एक पाइला सकारात्मक रूपमा अगाडि बढेको देखिनुलाई राम्रो मान्नु आवश्यक हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here