दण्ड–जरिवाना किन ?

0
43

सम्पादकीय

सामान्य अर्थमा दण्ड वा जरिवाना, यदि कसैले कुनै स्थापित नियम–कानूनको अवहेलना गरेको छ भने, पुनः त्यस्तो नहोस् भनेर दिइन्छ । मानिसलाई शारीरिकरूपमा दण्ड र आर्थिकरूपमा जरिवाना गर्ने चलन विश्वभरि रहेको छ । शारीरिक ताडना मानिसका लागि दुःखदायी हुन्छ ।

परिश्रम गरेर कमाएको धन जरिवानाको रूपमा तिर्नु पनि मानिसलाई कष्टकर लाग्छ । यसर्थ दण्ड र जरिवानाबाट मानिसलाई स्वेच्छाचारी बन्नबाट रोकेर काइदा–कानून पालना गर्न बाध्य पारिन्छ । काइदा–कानूनको पालना भयो भने समाजमा सुख–शान्ति हुन्छ । सबैले समान अधिकार र अवसर प्राप्त गर्छन् । समान अधिकार र अवसर पाएर देशमा प्रगति हुन्छ, समाज सभ्य बन्छ, व्यक्तिले सुख र आनन्दको अनुभूति गर्छ । किनकि दण्ड र जरिवानाको भयले कसैले कसैमाथि गैरकानूनी व्यवहार गर्न पाउँदैन । अन्यथा समाजमा विषमता जन्मन्छ ।

विषमताले अन्याय र अत्याचारलाई जन्म दिन्छ । मानव समाजमा विवेकहीनता उत्पन्न हुन्छ । विवेकहीनता हुनु मानव समाज पशु समाजमा परिणत हुनु हो । पहिलेको समाजमा विषमताको घेरो साँघुरो थियो । आज निकै फराकिलो भएको छ । हिजो मानिसलाई शारीरिक कष्ट र धन अपहरण गरेर चोर–डाँकाले मात्र मानिसलाई दुःखी तुल्याउँथे । आज खाद्य पदार्थमा मिलावट गरेर, निर्धारित दरभन्दा बढी सवारी भाडा, वस्तुको उचितभन्दा बढी मूल्य लिएर, तौल कम गरेर अर्काको अधिकार हरण गर्ने चलन बढेको छ । त्यसैले यस्ता क्रियाकलापबाट नागरिक प्रताडित हुन नपरोस् भनेर दण्ड जरिवानालाई पनि त्यहीं रूपमा व्यापकता प्राप्त भएको छ । तर आजको समस्या भनेको जतिसुकै दण्ड–जरिवाना गरेपनि, पटकपटक गरे पनि मानिस चेत्दैन ।

उसले अनियमितता गरेकै पाइन्छ । ती सबैको फेहरिस्त प्रस्तुत गर्न सकिन्न । एउटा नमूना उदाहरण सवारी साधनमा मनपरि भाडाबारे चर्चा गरिन्छ । नेपालमा जब–जब अप्ठ्यारो स्थिति उत्पन्न हुन्छ, सवारी धनीहरू यात्रुहरूबाट बढी भाडा लिन थाल्छन् । आजको लकडाउन होस्, हिजोका विभिन्न राजनैतिक बन्द, सडक जाम, दशैं–तिहार होलीजस्तो चाडमा रोजीरोटीका लागि विदेशिएका वा स्वदेशमैं अन्यत्र रहेका मानिस एकैचोटि घर फर्कन थाल्दा सवारी साधनको अभावमा जथाभावी भाडा तिर्न बाध्य हुन्छन् ।

सरकार चनाखो छैन भन्ने होइन, निगरानी गरिरहेको हुन्छ, दण्ड जरिवाना तिराइरहेको हुन्छ, तर सवारी धनीहरू बारम्बार त्यही काम गर्छन् । पहिले–पहिले पनि यस्ताहरूलाई सरकारी निकायले दण्ड जरिवाना गर्ने गरेको थियो आज पनि निषेधाज्ञाका बेला बढी भाडा लिएको भनेर जरिवाना तिराएको छ र दण्डका अन्यान्य स्वरूपबाट अनियमितता नियन्त्रण गर्ने कोशिश गरेको देखिन्छ । तर दण्ड जरिवाना भोगेर पनि आज मौका पाउना साथ सवारी साधनहरूले बढी भाडा लिन छाडेका छैनन् ।

अस्ति मात्र बढी भाडा लिएका २३ वटा साना तथा ठूला सवारी साधनमाथि कारबाई भएको छ । खोइ त दण्ड र जरिवानाको असर ? निषेधाज्ञाका बेला ६/७ सयमा काठमाडौं पुगिरहेका मानिसले तीन–तीन हजारसम्म भाडा तिर्नुपरेको थियो । दण्ड जरिवाना भइरहनु, अनियमितता पनि चलिरहनु निश्चय नै लोककल्याणकारी राज्यसँग अपेक्षित हुँदैन । नियम कानूनको परिपालना गराउन सरकारले ठोस पाइला चाल्नैपर्छ, दण्ड र जरिवानाको परिमाण बढाएर होस् वा अन्य कुनै उपाय अँगालेर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here